वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीको सार्वजनिक प्रस्तुति र सञ्चारमाध्यममा देखिएको उपस्थितिलाई लिएर पछिल्लो समय विभिन्न तहमा चर्चा हुन थालेको छ।
स्थानीय स्तरमा केही सञ्चारमाध्यममा डीएसपी कार्कीका गतिविधिलाई प्राथमिकताका साथ प्रकाशित गरिएको देखिएपछि त्यसलाई लिएर मिश्रित प्रतिक्रिया आएको बताइएको छ। कतिपयले यसलाई प्रहरी–मिडिया समन्वयको सामान्य अभ्यास मानेका छन् भने केहीले कार्यसम्पादनभन्दा प्रचारलाई बढी प्राथमिकता दिएको जस्तो देखिएको टिप्पणी गरेका छन्।
आलोचकहरूको भनाइमा प्रहरीको मूल्याङ्कन व्यक्तिगत प्रचारभन्दा पनि अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने क्षमता, अनुसन्धानको प्रभावकारिता तथा नागरिकलाई प्रदान गरिएको सेवाका आधारमा हुनुपर्छ। उनीहरूले सार्वजनिक छविभन्दा नतिजामुखी कामलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्।
यता, डीएसपी कार्कीले यस विषयमा कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। उहाँको धारणा प्राप्त हुनासाथ समाचार अद्यावधिक गरिनेछ।



