सिराहा । काठमाडौं मार्गमा पत्रकारको परिचयपत्रलाई आवरण बनाउँदै लागुऔषध ओसारपसार भइरहेको सूचनापछि प्रहरीले गरेको अपरेसनमा ४४.३४० ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले साउन २० गते सिन्धुलीको दुधौली नगरपालिका–१ मा सिराहाको मिर्चैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बा १६ च ७८५९ नम्बरको रेनो कारलाई शंकाको आधारमा रोकी खानतलासी गरेको थियो।
खानतलासीका क्रममा कारको गियर बक्सभित्र विशेष रूपमा लुकाइराखिएको ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन फेला परेपछि कारमा सवार तीनै जनालाई नियन्त्रणमा लिइएको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी सुभाषचन्द्र बोहराले जानकारी दिए।
पक्राउ पर्नेमा सिराहाको लक्ष्मीपुर गाउँपालिका–२ का २६ वर्षीय उमेश कुमार यादव, लहान नगरपालिका–१० का ३० वर्षीय रमेश कुमार राम तथा लक्ष्मीपुर गाउँपालिका–२ का २५ वर्षीय गुल्सन प्रसाद साह रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका चालक उमेश कुमार यादवको साथबाट ‘Janjagaran Khabar’ नामक सञ्चारमाध्यमको ‘News Reporter’ परिचयपत्र पनि बरामद भएको छ। उक्त परिचयपत्र पत्रकारिताको कार्यका लागि प्रयोग गरिएको हो वा लागुऔषध ओसारपसारलाई सहज बनाउन दुरुपयोग गरिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थलबाट प्रहरीले ४ थान मोबाइल फोन, लागुऔषध ओसारपसारमा प्रयोग भएको बा १६ च ७८५९ नम्बरको रेनो कार र बरामद खैरो हेरोइन नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।




