वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थालाई सहज, नियमित र पारदर्शी बनाउन ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाएर भण्डारण गर्ने, कालोबजारी गर्ने तथा तोकिएको मूल्यभन्दा बढी रकम असुल गर्ने व्यवसायीविरुद्ध कडा चेतावनी दिएको छ।
कार्यालयले बिहीबार जारी गरेको अत्यन्त जरुरी सूचनामा ग्यास बिक्री गर्दा अनिवार्य रूपमा तोकिएको मूल्यमा बिल वा रसिदसहित बिक्री वितरण गर्न सबै व्यवसायीलाई निर्देशन दिएको छ। उपभोक्ताको हकहितविपरीतका गतिविधि तत्काल रोक्न पनि प्रशासनले आग्रह गरेको छ।
सूचनाको अवज्ञा गरी कृत्रिम अभाव सिर्जना गरेको, मूल्य वृद्धि गरेको वा कालोबजारी गरेको पाइएमा कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ तथा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम मालसामान जफत, भारी जरिवाना र कैद सजायसम्मको कानुनी कारबाही गरिने प्रशासनले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाद्वारा जारी सूचनामा यस्ता गैरकानुनी गतिविधि देखिएमा प्रमाणसहित जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराई सहयोग गर्न आम उपभोक्तासमेत अनुरोध गरिएको छ।




