Categories लेख

श्री गुरु हरिकृष्ण साहेब जी : करुणा, सेवा र विनम्रताको अनुपम प्रतिमूर्ति

Advertisement

“श्री हरि क्रिशन धिआइऐ
जिस डिठै सब दुख जाइ।”

सिख धर्मका आठौ गुरु, श्री गुरु हरिकृष्ण साहेब जी, सम्पूर्ण मानव इतिहास मै अत्यन्त अल्पायुमा आध्यात्मिक नेतृत्व प्रदान गर्ने महान् विभूतिहरु मध्ये एक हुनुहुन्छ।

मात्र आठ वर्षको सांसारिक जीवनमा उहाँले सेवा, करुणा, विनम्रता, समानता तथा ईश्वर प्रतिको अटल श्रद्धाको यस्तो अनुपम उदाहरण प्रस्तुत गर्नुभयो, जसले सिख समुदाय मात्र होइन सम्पूर्ण मानव समाजलाई आज सम्म प्रेरणा प्रदान गरिरहेको छ। उहाँलाई विभिन्न समुदायका श्रद्धालुहरुले पनि आदर, माया तथा आस्था गरेर श्रद्धापूर्वक “बाला पीर” अर्थात् बाल सन्त पनि भन्ने गर्दछन।

Advertisement

श्री गुरु हरिकृष्ण साहेब जीको जन्म विक्रम संवत् १७१३ साउन कृष्ण अष्टमी, तदनुसार ७ जुलाई १६५६ ईस्वीमा किरतपुर साहेब (गुरुको महल हाल पञ्जाब, भारत) मा भएको थियो। उहाँ सातौँ गुरु श्री हरिराय जी तथा माता कृष्ण कौर जी का सुपुत्र हुनुहुन्थ्यो। बाल्यकालदेखि नै उहाँ असाधारण बुद्धिमत्ता, कोमल हृदय, विनम्रता तथा आध्यात्मिक तेजले सम्पन्न हुनुहुन्थ्यो। उहाँको शान्त स्वभाव, मधुर वाणी र सबै प्रतिको समान व्यवहारले बाल्यकाल मै संगतलाई आकर्षित गरेको थियो।

Advertisement

श्री गुरु हरिराय साहेब जी का दुई पुत्र मध्ये ज्येष्ठ पुत्रलाई मुगल सम्राटले आफ्नो दरबारमा बोलाएका थिए। दरबारमा एक प्रश्नको उत्तर दिँदा रामरायले श्री गुरु नानक देव जीको वाणीको अर्थ सम्राटलाई खुसी पार्न परिवर्तन गरे। सिख सिद्धान्तअनुसार गुरुवाणी अपरिवर्तनीय र सर्वोच्च मानिन्छ। यस कारण श्री गुरु हरिराय साहेब जी अत्यन्त दुःखी हुनु भयो र स्पष्ट रुपमा घोषणा गर्नुभयो कि गुरुवाणीको मर्यादा भन्दा ठूलो कुनै सांसारिक शक्ति हुन सक्दैन।

यसै कारण विक्रम संवत्  ८ कार्तिक  १७१८ ( ७ अक्टोबर सन् १६६१ ईस्वी) मा केवल पाँच वर्षको उमेरमा श्री गुरु हरिकृष्ण साहेब जी लाई आठौ गुरुका रुपमा गुरुगद्दी प्रदान गरियो। यो घटनाले सिख इतिहासमा सत्य, सिद्धान्त र गुरुवाणी प्रतिको अटल निष्ठाको अनुपम उदाहरण स्थापित गर्यो। उमेरले सानो भए पनि आध्यात्मिक रुपमा उहाँ पुर्ण गुरु हुनुहुन्थ्यो।

श्री गुरु हरिकृष्ण साहेब जी को दिव्य ज्ञानको चर्चा टाढा-टाढा सम्म फैलिएको थियो। कतिपय विद्वान तथा पण्डितहरुले यति सानो उमेरको बालक कसरी गुरु हुन सक्छ भन्ने प्रश्न उठाउँथे।

सिख परम्परामा वर्णित एक अत्यन्त प्रसिद्ध घटना अनुसार, दिल्लीका एक संस्कृत विद्वानले गुरु साहेबको परीक्षा लिन खोजे। उहाँले गुरु साहेबलाई हजुरको नाम श्री हरिकृष्ण हो उसो भय श्रीकृष्ण जी ले उच्चारण गर्नु भएको श्री गीताको शुद्ध वाचन र अर्थ गरेर सुनाउनु होस् भनेर भने, गुरु साहेबले मुस्कुराउँदै यो कुनै ठुलो कुरो होइन, यो त हाम्रो सट्टा कुनै हाम्रो श्रद्धालुले नै गर्न सक्छन् भनेर त्यहाँ उपस्थित कुनै व्यक्तिलाई छान्नुस भनेर विद्वानलाई नै मौका दिए, ति विद्वानले जानेर छज्जू झीवर (छज्जू राम) नामका एक सामान्य जलवाहक जो बोल्न र सुन्न सकदैन थिए उसलाई नै गीता पाठ गराउनुस् भनेर भने, गुरु साहेबले आफ्नो हातमा बोक्ने गरेको छडीले (लठ्ठी) छज्जु रामको सिरमा छुआएर कृपा प्रदान गर्नुभयो। छज्जु शिक्षित व्यक्ति थिएनन्, तर गुरु साहेबको आशीर्वाद पछि उनले श्री भगवद गीताका गूढ श्लोकहरुको अत्यन्त गहन व्याख्या गर्न थाले।

विद्वान पण्डितहरु अचम्मित भए र आफ्नो अहंकार त्याग्दै गुरु साहेबको चरणमा नतमस्तक भए। उक्त पवित्र स्थानमा गुरुद्वारा पजोंखरा साहेब शोभायमान छ। यस घटनाले गुरु साहेबले दिनुभएको सन्देश स्पष्ट हुन्छ- ज्ञान पद, प्रतिष्ठा वा अहंकारबाट होइन, परमात्माको कृपा, विनम्रता र गुरुको आशीर्वाद बाट प्राप्त हुन्छ।

औरंगजेबले श्री गुरु हरिकृष्ण साहेबजी लाई दिल्ली आउन निमन्त्रणा पठाए। गुरु साहेबले संगत सँग परामर्श गरी दिल्ली तर्फ यात्रा गर्नुभयो। उहाँको यात्राका क्रममा हजारौं श्रद्धालुहरुले दर्शन गरी आशीर्वाद प्राप्त गरे।

दिल्ली पुगेपछि आमेर (हाल जयपुर) का प्रसिद्ध शासक राजा जयसिंह ले गुरु साहेबको अत्यन्त श्रद्धा र सम्मानका साथ स्वागत गर्नु भयो। राजा जयसिंह गुरु घर प्रति समर्पित श्रद्धालु थिए। उनले आफ्नो भव्य राजमहल “बंगलामा” गुरु साहेबको निवास तथा संगतको सेवाका लागि समर्पण गरे। यही ऐतिहासिक भवन पछि विश्वप्रसिद्ध  रुपमा गुरुद्वारा बंगला साहेबको नामले प्रख्यात एवं विकसित भयो।

दिल्ली पुगेको केही समयपछि विक्रम सम्वत १७२१ सन् १६६४ ईस्वीमा शहरमा ढेउला (चेचक) र अन्य संक्रामक रोगको भीषण महामारी फैलियो। हजारौं मानिस रोगबाट पीडित भए। धनी–गरिब, हिन्दू-मुस्लिम, सिख वा अन्य कुनै समुदायबीच रोगले कुनै भेदभाव गरेन। सडकहरु बिरामीले भरिए, धेरै परिवारले आफ्ना सदस्य गुमाए, र जनजीवन अस्तव्यस्त बन्यो।

यस्तो कठिन समयमा बालक श्री गुरु हरिकृष्ण साहेब जीले कुनै डर वा स्वार्थ नराखी पीडितहरूको सेवामा आफुलाई समर्पित गर्नुभयो। उहाँ बिरामीहरूको घर-घर पुग्नुभयो, उनीहरुलाई ढाडस दिनुभयो, आफ्नो शक्तिले स्वच्छ पानी उपलब्ध गराउनु भयो, प्रार्थना गर्नु भयो र सबैलाई परमात्माको नाम स्मरण गर्न प्रेरित गर्नुभयो। उहाँका लागि कुनै पनि मानिस सानो वा ठूलो, धनी वा गरिब थिएन। सबैमा एउटै परमात्माको ज्योति देख्नु नै उहाँको शिक्षा थियो।

मानवता भन्दा ठूलो धर्म छैन श्री गुरु हरिकृष्ण साहेबजी ले आफ्नो जीवनबाट देखाउनुभयो कि धर्म केवल पूजा वा उपदेशमा सीमित हुँदैन। वास्तविक धर्म भनेको दुःखी, रोगी, असहाय र निराश मानिसको सेवा गर्नु हो। यही कारण आज पनि उहाँलाई मानव सेवाको अनुपम प्रतीकका रुपमा स्मरण गरिन्छ। त्यतिबेला उहाँ बस्नुभएको  परिसरमा रोगीहरुको सेवा निरन्तर चलिरह्यो। यही ऐतिहासिक घटनाका कारण बंगला साहेब सिख इतिहासको सबैभन्दा पवित्र तीर्थस्थल मध्ये एक बनेको हो।

गुरुद्वारा बंगला साहिबको सरोवर आज विश्वभर प्रसिद्ध छ। सिख परम्परा अनुसार श्री गुरु हरिकृष्ण साहेब जीको कृपा र सेवाको स्मृति सँग सम्बन्धित यस सरोवरको जललाई श्रद्धापूर्वक “अमृत जल” मानिन्छ। विश्वभरबाट आउने श्रद्धालुहरुले यस जललाई प्रसादका रुपमा ग्रहण गर्छन्। श्रद्धा साथ आ-आफ्नो घरहरुमा पनि लिएर जाने गर्दछन।
सिख मतले सिकाउँछ कि वास्तविक शक्ति पानीमा होइन, गुरुको कृपा, श्रद्धा, नाम सिमरन र परमात्मा माथिको विश्वासमा निहित हुन्छ। त्यसैले अमृत जललाई आध्यात्मिक आस्था र गुरुको करुणाको प्रतीकका रुपमा सम्मान गरिन्छ।

आज गुरुद्वारा बंगला साहेब विश्वभरका सिख तथा अन्य धर्मावलम्बीहरुको प्रमुख आस्था स्थल हो। हरेक दिन हजारौँ श्रद्धालु यहाँ मत्था टेक्न, कीर्तन सुन्न, लंगर ग्रहण गर्न तथा सरोवरको दर्शन गर्न पुग्छन्।

गुरुद्वारा बंगला साहेबको धार्मिक महत्त्व
गुरुद्वारा बंगला साहेब केवल ऐतिहासिक भवन मात्र होइन, सेवा, करुणा र मानवताको जीवन्त प्रतीक हो। यही स्थानमा श्री गुरु हरिकृष्ण साहेबले महामारीबाट पीडित जनताको निःस्वार्थ सेवा गर्नुभयो।

यस गुरुद्वारा साहेबको पवित्र सरोवर (अमृत जल) प्रति सिख समुदायको विशेष श्रद्धा छ। सिख परम्परा अनुसार श्री गुरु हरिकृष्ण साहेबको कृपा र सेवा सँग सम्बन्धित यस सरोवरको जललाई श्रद्धापूर्वक “अमृत” मानिन्छ। विश्वका विभिन्न देशबाट आएका श्रद्धालुहरुले यस जललाई प्रसाद स्वरुप ग्रहण गर्छन्। सिख विश्वासअनुसार श्रद्धा, नाम सिमरन र गुरुको कृपाले आध्यात्मिक बल, मानसिक शान्ति र आत्मिक प्रेरणा प्राप्त हुन्छ। यसलाई चमत्कारको वैज्ञानिक प्रमाणका रुपमा होइन, सिख आस्था र परम्पराको एक पवित्र प्रतीकका रुपमा सम्मान गरिन्छ।

आज पनि गुरुद्वारा बंगला साहेबमा जात, धर्म, भाषा, देश वा सम्प्रदायको कुनै भेदभाव बिना सबैलाई स्वागत गरिन्छ। यहाँको विशाल लंगर, निःशुल्क सेवा, चिकित्सा सहयोग तथा मानव सेवाको परम्पराले गुरु हरिकृष्ण साहेबका आदर्शहरुलाई निरन्तर जीवन्त राखेको छ।
यसरी बाल्यकाल मै श्री गुरु हरिकृष्ण साहेब जीले सिद्ध गर्नुभयो कि महानता उमेरले होइन, सत्य, विनम्रता, सेवा र परमात्मा प्रतिको समर्पणले निर्धारण हुन्छ। उहाँको दिल्ली आगमन र बंगला साहेब सँग जोडिएको इतिहास आज पनि सिख इतिहासका सबैभन्दा प्रेरणादायी अध्यायहरु मध्ये एक मानिन्छ।

निरन्तर बिरामीहरूको सेवा गर्ने क्रममा श्री गुरु हरिकृष्ण साहेब जी स्वयं ढेउला बाट संक्रमित हुनु भयो। संगतले विश्राम गर्न आग्रह गर्दा पनि उहाँले अरुको सेवा प्रतिको समर्पण त्याग्नु भएन। उहाँको लागि आफ्नै शरीर भन्दा मानवताको सेवा ठूलो थियो। गुरु साहेब अन्ततः चैत्र शुदि १४ सम्वत १७२१, (३० मार्च सन् १६६४ ई) ज्योति ज्योत समाउनु भयो
छोटो जीवन भए पनि उहाँले मानवताको इतिहासमा अमिट छाप छोड्नु भयो।

गुरु साहेबको ज्योति ज्योत हुनु अघि संगतले विनम्रता पूर्वक अर्को गुरु को हुनुहुन्छ भनेर सोधे। त्यसबेला गुरु साहेबले केवल दुई शब्द उच्चारण गर्नुभयो- “बाबा बकाले।” यी दुई शब्दले सम्पूर्ण सिख इतिहासको दिशा तय गरे। यस संकेतले पञ्जाबको बकाला गाउँमा बसिरहनु भएका तर्फ सङ्केत गरेको थियो। पछि  ले वास्तविक गुरुको पहिचान गरी सम्पूर्ण संगत समक्ष घोषणा गरे। यसरी गुरु परम्पराको निरन्तरता सुरक्षित रह्यो।

ऐतिहासिक बंगला साहेब गुरुद्वारा साहेब भारतको राजधानी दिल्लीको मुटु कनाट प्लेस नजिक शोभायमान छ। यहाँ दैनिक हजारौं-हजार श्रद्धालु, भक्तजन तथा आवश्यकता भएका व्यक्तिहरुका लागि लंगर (निशुल्क भोजन) तथा प्याकिङ भोजनको व्यवस्था गरिएको छ। कोभिड–१९ महामारीको कठिन समयमा करोडौं व्यक्तिहरुलाई गुरुद्वारा साहेबमा मात्र नभई घरदैलो तथा गाडी मार्फत समेत लंगर (निशुल्क भोजन) सेवा पुर्याइयो। साथै, भारतको पहिलो २०० शैयाको कोभिड अस्पताल तयार गरियो, जुन हाल विस्तार भई करिब १२०० शैयाको भएको छ।

त्यसै गरी, हजारौं विरामीहरुलाई घरदैलो तथा गाडी मार्फत र गाडि मै प्राणवायु (अक्सीजन) सेवा उपलब्ध गराई हजारौं व्यक्तिलाई पुनर्जन्म सरह नयाँ जीवन प्रदान गरियो। यो सेवा भारत सरकारले व्यवस्था गर्नुभन्दा अगाडि नै प्रारम्भ गरिएको थियो र सरकारले तत्काल गर्न नसकेका धेरै कार्यहरु गुरुद्वारा साहेबले सम्पन्न गरेको थियो। बाढी, पहिरो, भूकम्प, सुख्खा तथा विभिन्न प्रकारका प्राकृतिक आपदा-विपदाका समयमा पनि निरन्तर लंगर, अक्सीजन, स्वास्थ्य सेवा तथा मानवीय सहयोग प्रदान गरिँदै आएको छ।

यसका अतिरिक्त, अत्याधुनिक विश्वस्तरीय विदेशी उपकरण तथा मेशिन मार्फत मृगौला, डायलेसिस, ह्रदय रोग, क्यान्सर जाँच, रक्त जाँच लगायतका स्वास्थ्य, उपचार सेवाहरु अत्यन्त न्यूनतम शुल्कमा, प्रायः निशुल्क सरह उपलब्ध गराइन्छ। औषधिहरु पनि बजार मूल्य भन्दा आधा भन्दा कम मूल्यमा उपलब्ध गराइन्छ।

यी सम्पूर्ण सेवाहरु विना कुनै जात-पात वा अन्य कुनै प्रकारको भेदभाव, निशुल्क वा न्यूनतम शुल्कमा प्रदान गरिन्छ। आर्थिक अवस्था कमजोर भएका बिरामी तथा सेवाग्राहीहरुको आवश्यकता अनुसार यात्रा भाडा समेत गुरुद्वारा साहेब समितिले उपलब्ध गराउने गरेको छ। यही निःस्वार्थ सेवा, मानवता र समानताको भावनाले बंगला साहेब गुरुद्वारा साहेबलाई विश्वभरका श्रद्धालुहरुको आस्था, विश्वास र सेवाको अनुपम केन्द्रका रुपमा स्थापित गरेको छ।

श्री गुरु हरिकृष्ण साहेब जी को प्रकाश पूरब अवतार दिवस यसपाली २२ गते श्रावण शुक्रबार २०८३, ७ अगस्त २०२६ को दिन परेको छ।
गुरु साहेबको पावन पवित्र प्रकाश पूरबमा सबै साधसंगत जी हरु लाई हार्दिक बधाई एवं शुभकामना। सबै को स्वस्थ, आनंदमय जीवन, सुख-शांति, समृद्धि तथा सफलताको लागि प्रार्थना।
विश्वभरका गुरुद्वारा साहेबहरुमा, अन्य गुरु पूरबहरुमा झैं, श्री गुरु ग्रन्थ साहेब जी को ४८ घण्टे अखंड पाठ साहेब, दिव्य शबद कीर्तन तथा अटुट लंगर प्रसाद वितरण गरिनेछ।

जसपाल सिंह
श्रीपुर-बीरगंज

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *