वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकामा समावेशी शिक्षा तथा ‘सबैका लागि शिक्षा’ अभियानलाई प्रभावकारी बनाउन पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
ACCESS परियोजनाअन्तर्गत सामाजिक संस्था जिल्ला समन्वय समिति (SODCC) पर्साको आयोजना तथा एकाउन्टेबिलिटी ल्याब नेपालको सहकार्यमा गाउँपालिकाको सभा कक्षमा कार्यक्रम गरिएको हो। गाउँपालिकाकी उपाध्यक्ष बविता सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वडा नं. ४ का अध्यक्ष प्रभुनाथ प्रसाद नुनिया, वडा नं. ५ का अध्यक्ष विहारी महतो नुनिया, स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र प्रसाद साह कानु, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, बाल क्लबका प्रतिनिधि, बालबालिका तथा Girls and Inclusive Education Network (GIEN) का प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
साथै SODCC पर्साका अध्यक्ष इब्राहिम देवान, कार्यकारी निर्देशक रुपक पाण्डे, कार्यक्रम व्यवस्थापक विशाल कुमार गुप्ता, एकाउन्टेबिलिटी ल्याब नेपाल मधेश प्रदेशका प्रतिनिधि अम्रेश यादव र जिल्ला अधिकृत दिपेश पटेल पनि कार्यक्रममा सहभागी थिए। कार्यक्रमको सञ्चालन विशाल कुमार गुप्ताले गरेका थिए।
अभिमुखीकरणमा समावेशी शिक्षाको अवधारणा, यसको आवश्यकता, स्थानीय तहको जिम्मेवारी तथा विद्यालयबाहिर रहेका वा जोखिममा रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उपायबारे जानकारी गराइएको थियो। सहभागीहरूबीच स्थानीय सरकार, विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल भएको थियो।
कार्यक्रममा ACCESS/FSTP परियोजनाका उद्देश्य, GIEN र Community Response Mechanism (CRM) को परिचालन, विद्यालयमा Gender Equality, Disability and Social Inclusion (GEDSI) तथा Diversity, Inclusion and Dignity (DID) का सिद्धान्त कार्यान्वयन, समावेशी विद्यालय सुधार योजना (Inclusive SIP) निर्माण र सुरक्षित, बालमैत्री तथा समावेशी विद्यालय वातावरण विकासका विषयमा विशेष प्रस्तुति दिइएको थियो।
कार्यक्रमपछि उपाध्यक्ष बविता सिंहको अध्यक्षतामा पालिका स्तरीय GIEN को पहिलो बैठकसमेत सम्पन्न भएको थियो। बैठकमा सञ्जालको वार्षिक कार्ययोजनामाथि छलफल गरिएको थियो भने सहजीकरण एकाउन्टेबिलिटी ल्याब नेपालका अम्रेश यादव र जिल्ला अधिकृत दिपेश पटेलले गरेका थिए।
कार्यक्रमका सहभागीहरूले गुणस्तरीय, समान र समावेशी शिक्षा सुनिश्चित गर्न स्थानीय सरकार, विद्यालय, अभिभावक, बाल क्लब र समुदायबीचको समन्वय अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए। साथै विद्यालयबाहिर रहेका तथा जोखिममा रहेका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याई निरन्तर सिकाइ सुनिश्चित गर्न स्थानीय तहले नेतृत्वदायी भूमिका खेल्नुपर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।




