वीरगंज । सबैया साझेदारी वन उपभोक्ता समूह, पर्साको प्रथम साधारण सभा सम्पन्न भएको छ। समूहका अध्यक्ष लखनलाल साह कानुको अध्यक्षतामा सम्पन्न सभामा मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए।
सभालाई सम्बोधन गर्दै मन्त्री चौधरीले वन संरक्षणलाई प्रभावकारी बनाउन सरकार, साझेदारी वन उपभोक्ता समूह र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको बताए। उनले एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोप्ने नीति अवलम्बन गर्न उपभोक्ता समूहलाई सुझाव दिए।
दिगो वन व्यवस्थापनका लागि वृक्षरोपण र वन संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै उनले वन क्षेत्रमा काठ सडेर जाने अवस्था रहे पनि उपभोक्ताले आवश्यक काठ सहज रूपमा प्राप्त गर्न नसकेको विषयमा ध्यान दिनुपर्ने बताए। वन व्यवस्थापन तथा काठ उपभोगसँग सम्बन्धित झन्झटिला नियमलाई सरल र सहज बनाउन आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रमका विशिष्ट अतिथि मधेश प्रदेशका भूमि व्यवस्था तथा सहकारीमन्त्री श्याम पटेलले केही व्यक्तिको स्वार्थका कारण साझेदारी वनको प्रभावकारी व्यवस्थापन हुन नसकेको आरोप लगाए। वनलाई व्यापारिक दृष्टिकोणबाट मात्र नहेरी सामाजिक सेवाको भावनाबाट संरक्षण र व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए।
वन संरक्षण सरकारको मात्र नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै मन्त्री पटेलले वन जोगाउन सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने बताए। उनले मधेश प्रदेशका किसानले रासायनिक मलको अभाव झेलिरहेको र संघीय सरकारले पर्याप्त मल उपलब्ध नगराउँदा समस्या उत्पन्न भएको पनि बताए।
सभामा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जनप्रसाद साह सोनार, डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमद, सबैया साझेदारी वन उपभोक्ता समूहका उपाध्यक्ष असलम आलमलगायत पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता थियो। कार्यक्रमको सञ्चालन जवाहरप्रसाद कुर्मीले गरेका थिए।




