Categories समाचार

वीरगञ्ज चिनी कारखाना सञ्चालनमा ल्याउने योजनाप्रति वडा अध्यक्ष एलाहीको आपत्ति

Advertisement

वीरगञ्ज । लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने चर्चा चलिरहेका बेला वीरगञ्ज महानगरपालिका–१४ का वडा अध्यक्ष महबुब एलाहीले तत्काल प्रक्रिया रोक्न स्थानीय सरकारसँग आग्रह गरेका छन्।

वडा अध्यक्ष एलाहीले चिनी कारखाना महानगरपालिकाको बीच बजार तथा घना बस्ती क्षेत्रमा पर्ने भएकाले पुनः सञ्चालन गरिनु उपयुक्त नहुने बताएका छन्। कारखाना सञ्चालनमा आएमा धुवाँ, धुलो तथा अन्य कारणले अत्यधिक प्रदूषण फैलिन सक्ने भन्दै उनले स्थानीय बासिन्दाले विगतमा समेत यसको असर भोगिसकेको दाबी गरे।

Advertisement

‘वीरगञ्ज चिनी कारखाना खोल्ने चर्चा चलेको छ, तर स्थानीय सरकारले यसलाई तत्काल रोक्न पहल गर्नुपर्छ,’ एलाहीले भने, ‘चिनी कारखाना वीरगञ्ज महानगरपालिकाको बीच बजार तथा बस्ती क्षेत्रमा पर्छ। त्यसैले यहाँ कारखाना सञ्चालन गर्नु उचित हुँदैन। धेरै प्रदूषण हुन्छ, यसको असर हामीले पहिले पनि भोगेका र अनुभव गरेका छौँ।’

Advertisement

कारखाना आफ्नो वडामै पर्ने उल्लेख गर्दै एलाहीले स्थानीय बासिन्दाको स्वास्थ्य, वातावरण र बस्तीको अवस्थालाई बेवास्ता गरेर उद्योग सञ्चालन गर्न नहुने बताए। उनले महानगरपालिकाभित्र घना बस्तीका बीचमा ठूलो प्रदूषण गर्ने उद्योग पुनः सञ्चालन गर्नुभन्दा अन्य वैकल्पिक स्थानमा औद्योगिक क्षेत्र विकास गर्नुपर्ने धारणा राखे।

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययनका लागि सरकारले अध्ययन कार्यदल गठन गरिसकेको अवस्थामा वडा अध्यक्ष एलाहीको यस्तो धारणा आएको हो। स्थानीय बासिन्दाको स्वास्थ्य र वातावरणमा पर्ने प्रभावको विस्तृत अध्ययन नगरी कारखाना सञ्चालनको प्रक्रिया अघि बढाउन नहुने उनको भनाइ छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *