वीरगञ्ज । वीरगञ्जस्थित हरिखेतान बहुमुखी कलेजमा कक्षा १२ का विद्यार्थीबीच घरेलु तथा पुनःप्रयोग गर्न सकिने सामग्रीबाट विभिन्न सिर्जनात्मक सामग्री निर्माण गर्ने प्रतियोगिता सम्पन्न भएको छ।
सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा विषयअन्तर्गत बिहानी सत्रका विद्यार्थीलाई सहभागी गराएर आयोजना गरिएको प्रतियोगितामा विद्यार्थीहरूले घरायसी सामग्रीको प्रयोग गर्दै मन्दिर, विद्यालय, कलेज तथा विभिन्न मूर्ति लगायतका नमुना तयार गरेका थिए।
कलेज प्रमुख किशोरी रायको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष डा. राम औतार खेतान प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा सञ्चालक समितिका सल्लाहकार जयप्रकाश खेतानसहित शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
प्रतियोगितामा पूजा मण्डल प्रथम, सोनी शर्मा लोहार द्वितीय र रेनु चौहान तृतीय भएका थिए। विजेता विद्यार्थीलाई प्रमुख अतिथि डा. राम औतार खेतानले मेडल प्रदान गरी सम्मान गर्नुभएको थियो।
कार्यक्रममा डा. खेतानले विद्यार्थीको प्रतिभा र सिर्जनशीलता उजागर गर्न यस्ता व्यावहारिक गतिविधि महत्वपूर्ण हुने बताउनुभयो। उहाँले किताबी ज्ञानसँगै व्यवहारिक सीप र सिर्जनशीलताको विकासमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो।
विद्यार्थीहरूले सामान्य तथा घरमै उपलब्ध सामग्रीको प्रयोग गरेर तयार पारेका सामग्रीको शिक्षक तथा अतिथिहरूले अवलोकन गर्दै प्रशंसा गरेका थिए। कलेजले विद्यार्थीको क्षमता र सिर्जनशीलता विकास गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता व्यवहारिक तथा अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिने जनाएको छ।





