Categories समाचार

सौता विवादले लियो दुई वर्षीया खुसीको ज्यान

Advertisement

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका–३, ट्राफिक चोकमा दुई वर्षीया खुसी खातुनको हत्या भएको छ। आइतबार बिहान घर अगाडिबाट हराएकी खुसी दिउँसो घर पछाडिको झाडीमा मृत अवस्थामा फेला परेकी थिइन्।

घटनापछि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको बालिकाकी सौतेनी आमा मुस्कान खातुनले हत्या गरेको स्वीकार गरेकी छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी रुपक खड्काका अनुसार सौता रुबिना खातुनसँगको विवादका कारण मुस्कानले बालिकाको हत्या गरेको बयान दिएकी छन्।

Advertisement

मुस्कानले बालिकाको हत्या गरी शव घर पछाडिको झाडीमा फालेको प्रहरीसमक्ष बताएकी छन्। घटनाबारे थप अनुसन्धान भइरहेको र सोमबार अदालतबाट म्याद थप गर्ने तयारी रहेको प्रहरीले जनाएको छ।

Advertisement

बालिका आइतबार बिहान पौने १० बजेसम्म पूर्व–पश्चिम राजमार्ग छेउमा रहेको घर अगाडि खेलिरहेकी थिइन्। त्यसपछि उनी अचानक हराएकी थिइन्। परिवारजनले खोजी गर्दा नभेटिएपछि इलाका प्रहरी कार्यालय रुपनीमा खबर गरेका थिए। प्रहरीले शव पोस्टमार्टमका लागि पठाएको छ। बालिकाका बुवा वैदेशिक रोजगारीमा रहेको बताइएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *