Categories समाचार

पत्रकारमाथि मुद्दा र पक्राउ पुर्जीप्रति प्रेस चौतारीको आपत्ति

Advertisement

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ का सांसद बुद्धिप्रसाद पन्त (हरि पन्त) सम्बन्धी प्रकाशित समाचारलाई लिएर सञ्चार संस्था तथा पत्रकारविरुद्ध मुद्दा दर्ता र पक्राउ पुर्जी जारी गरिएको घटनाप्रति प्रेस चौतारी नेपाल पर्सा शाखाले आपत्ति जनाएको छ।

शाखा सचिव कृष्ण कुशवाहाले जारी गरेको विज्ञप्तिमा सञ्चार संस्था तथा पत्रकारमाथि कानुनी प्रक्रिया अघि बढाइनुले प्रेस स्वतन्त्रता र निर्भीक पत्रकारितामाथि दबाब सिर्जना भएको उल्लेख गरिएको छ।

Advertisement

प्रेस चौतारीले सार्वजनिक पदमा रहेका व्यक्ति तथा जनप्रतिनिधिका गतिविधिबारे प्रश्न उठाउने, तथ्य सार्वजनिक गर्ने र सम्बन्धित पक्षको धारणा समेटेर समाचार प्रकाशन गर्नु पत्रकारको संवैधानिक अधिकार तथा पेशागत दायित्व भएको जनाएको छ। समाचारप्रति असहमति भए कानुनी उपचारका बाटा हुँदाहुँदै पत्रकारमाथि दबाब र भय सिर्जना गर्नु उचित नभएको उसको भनाइ छ।

Advertisement

विज्ञप्तिमा पत्रकार अदालतमा उपस्थित भएर साधारण तारेखमा रिहा भइसकेको विषयलाई समेत अप्रिय ढंगले प्रस्तुत गरी प्रेसलाई मौन गराउने प्रयास गरिएको आरोप लगाइएको छ। यस्तो प्रवृत्तिले प्रेस स्वतन्त्रता तथा पत्रकारको मनोबलमा असर पार्ने प्रेस चौतारीको ठहर छ।

प्रेस चौतारी नेपाल पर्साले सञ्चार संस्था र पत्रकारमाथि सिर्जना गरिएको दबाब तथा भयको वातावरण अन्त्य गर्न र घटनाको निष्पक्ष समीक्षा गर्न सम्बन्धित पक्षसँग माग गरेको छ। साथै प्रेस स्वतन्त्रताको संरक्षणका लागि आवश्यक परे कडा प्रतिवाद र आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *