वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त (हरि पन्त) सम्बन्धी प्रकाशित समाचारलाई लिएर सञ्चार संस्था तथा पत्रकारविरुद्ध विद्युतीय अपराधसम्बन्धी मुद्दा दर्ता गरी अदालतसम्म पुर्याइएको घटनाप्रति समाजवादी प्रेस संगठन नेपाल, पर्साले गम्भीर आपत्ति जनाएको छ ।
संगठनले जारी गरेको प्रेस विज्ञप्तिमा संगठनका सहसचिव तथा रातोपाना डटकमका सञ्चालक, नेपाल पत्रकार महासंघ पर्सा शाखाका सदस्य तथा प्रहार डेली डटकमका सञ्चालक, पत्रकार महासंघका साधारण सदस्य एवं रातोपानाका प्रबन्ध निर्देशक लगायत सञ्चारकर्मी तथा सम्बन्धित सञ्चार संस्थाविरुद्ध मुद्दा दर्ता गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
सार्वजनिक पदमा रहेका व्यक्तिका काम, गतिविधि, अभिव्यक्ति तथा भूमिकाबारे नागरिकस्तरबाट उठेका प्रश्न र चासोलाई समाचारका रूपमा सार्वजनिक गर्नु पत्रकारिताको स्वाभाविक दायित्व भएको संगठनको भनाइ छ । सांसद पन्तसँग सम्बन्धित विषयमा उठेका प्रश्न तथा चासोलाई सञ्चारमाध्यमले समाचारका रूपमा प्रस्तुत गरेको र सम्बन्धित पक्षको धारणा समेत सार्वजनिक गरिएको संगठनले जनाएको छ ।
कुनै समाचारप्रति चित्त नबुझेमा सम्बन्धित सञ्चारमाध्यममा खण्डन वा प्रतिक्रिया दिने, प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने तथा प्रचलित कानुनी प्रक्रिया अवलम्बन गर्ने वैधानिक बाटो हुँदाहुँदै सञ्चार संस्था तथा पत्रकारविरुद्ध मुद्दा दर्ता गर्ने, पक्राउ पुर्जी जारी गराउने तथा धरपकडको वातावरण सिर्जना गर्ने प्रयासप्रति आफ्नो गम्भीर असहमति रहेको संगठनले जनाएको छ ।
पत्रकारलाई त्रसित बनाउने तथा उनीहरूको पेशागत मनोबल कमजोर पार्ने उद्देश्यले कानुनी प्रक्रिया र राज्यका संयन्त्रको प्रयोग हुनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि गम्भीर चुनौती भएको संगठनले उल्लेख गरेको छ ।
संगठनले पत्रकार तथा सञ्चारमाध्यमलाई अनावश्यक दबाब र त्रासमा पार्ने कार्य तत्काल रोक्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र कुनै समाचारप्रति असहमति भए विद्यमान कानुनी तथा संस्थागत प्रक्रियामार्फत समाधान खोज्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।




