वीरगन्ज । वीरगन्ज महानगरपालिकाको छपकैयामा दुई समुदायबीच भएको झडपको घटनामा संलग्न रहेको आरोपमा नेपाली कांग्रेस पर्सा–२ का सभापति मोहम्मद शाहबुद्दीनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी चक्रबहादुर मल्लले शाहबुद्दीनलाई प्रहरी नियन्त्रणमा लिएको पुष्टि गरेका छन्। उनलाई कुन कानुनी प्रावधानअन्तर्गत नियन्त्रणमा लिइएको हो भन्नेबारे भने प्रहरीले औपचारिक रूपमा खुलाएको छैन। प्रहरी स्रोतका अनुसार झण्डा राख्ने विषयमा बुधबार भएको विवाद र त्यसपछि उत्पन्न झडपमा उनको संलग्नता देखिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
छपकैयास्थित टावर लाइटको पोलमा पहिल्यै राखिएको हनुमान जयन्तीको पताकासँगै अर्को झण्डा राख्ने विषयमा बुधबार मध्याह्न विवाद भएको थियो।
घटनापछि छपकैयाका वडा नम्बर १, २ र ३ क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ठूलो सङ्ख्यामा परिचालन गरिएको छ। सुरक्षाकर्मीको बाक्लो उपस्थितिपछि अहिले अवस्था सामान्य बन्दै गएको स्थानीय प्रशासनले जनाएको छ।
यसैबीच, शाहबुद्दीनसँग सम्बन्धित भन्दै सामाजिक सञ्जालमा एउटा भिडियोसमेत सार्वजनिक भएको छ, जसमा उनको घरबाट ढुंगा–मुढा भएको देखाइएको दाबी गरिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।




