वीरगञ्ज । वीरगञ्जमा दुई समुदायबीच भएको विवादको घटनामा पक्राउ परेका कांग्रेस नेता मोहम्मद सहाबुद्दीनमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
दुई समुदायको झण्डा राख्ने विषयमा उत्पन्न विवादलाई भड्काउन भूमिका खेलेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीका अनुसार सहाबुद्दीन अन्य व्यक्तिहरूसँग मिलेर विवाद उक्साउने कार्यमा संलग्न रहेको सूचना प्राप्त भएपछि उनलाई नियन्त्रणमा लिइएको हो। उनीमाथि लागेको आरोपबारे अहिले प्रहरीले आवश्यक छानबिन गरिरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता चक्रबहादुर मल्लका अनुसार आरोप पुष्टि भएमा बिहीबार साँझ ५ बजेसम्म मुद्दा चलाइनेछ। आरोप पुष्टि नभएमा भने कानुनी प्रक्रिया अघि नबढाइने प्रहरीले जनाएको छ।




