वीरगञ्ज । केही दिनअघि आमासँग फोनमा कुरा गर्दै २४ वर्षीय विकास कुमार बर्णवालले भनेका थिए— रक्षाबन्धनमा तीनै दिदीबहिनीलाई घर बोलाउनु, यसपालि घर आउँदा नयाँ कपडा र घरखर्च लिएर आउँछु।
आमाका लागि छोराको त्यो बोली सामान्य पारिवारिक कुराकानी थियो। तर, त्यही संवाद विकासको जीवनसँग जोडिएको अन्तिम सम्झना बन्न पुग्यो।
पर्साको पकाहाँ मैनपुर गाउँपालिका–१ धोरेका विकास परिवारका एक्ला छोरा थिए। तीन दिदीबहिनीका एक्ला भाइ उनी लामो समयदेखि रोजगारीका सिलसिलामा रसुवाको बेद्रौटीस्थित हार्डवेयर पसलमा काम गर्दै आएका थिए।
गत बुधबार आएको विनाशकारी पहिरोपछि भने विकास एकाएक सम्पर्कविहीन भए। पहिरोको खबर सुन्नासाथ परिवारमा बेचैनी सुरु भयो। आमाले छोराको मोबाइलमा पटक–पटक फोन गरिन्। तर, हरेकपटक एउटै जवाफ आयो—‘सम्पर्क हुन सकेन।’
समय बित्दै गयो। परिवारले भने आशा छाडेन। बुबा शंकर साह बर्णवालले छोराको खोजीका लागि सम्बन्धित निकायसँग निरन्तर सम्पर्क गरिरहे। कतैबाट विकास भेटिएको खबर आउला भन्ने प्रतीक्षामा परिवारका दिन बिते।
तर, त्यो प्रतीक्षा अहिलेसम्म टुंगिएको छैन। विकास जीवित रहेको खबर पनि आएको छैन, शव पनि फेला परेको छैन।
रक्षाबन्धन नजिकिँदै गर्दा तीन दिदीबहिनीको मनमा भाइसँग भेट्ने आशा थियो। भाइले बोलाएको घर फर्कने दिन कुर्दाकुर्दै उनीहरूका लागि अहिले सबैभन्दा कठोर सत्य बनेको छ—उनीहरूको एक्लो भाइ सायद कहिल्यै घर फर्किने छैनन्।
शव नभेटिएपछि परिवारले सामाजिक तथा धार्मिक परम्पराअनुसार काजकिरिया र अन्तिम संस्कारका लागि हिजो विकासको प्रतीकस्वरूप कुशको शव बनाएर दागबत्ती दिने तयारी गरे।
जसले छोराको अनुहार अन्तिमपटक हेर्न पाएनन्, त्यही बाबुआमाले आज आफ्नै हातले बनाएको कुशको प्रतीकात्मक शवलाई अन्तिम विदाइ गरे। छोराको वास्तविक अवस्था थाहा नपाउँदै संस्कार गर्नुपर्ने बाध्यताले बुबा शंकर साह र आमाको पीडा झनै गहिरिएको छ।
धोरे गाउँ पनि विकासको अवस्थाले शोकमा डुबेको छ। गाउँलेका लागि उनी बेपत्ता हुनु एउटा परिवारको मात्र पीडा रहेन, गाउँकै लागि कहिल्यै नमेटिने दुःख बनेको छ।
रक्षाबन्धनमा दिदीबहिनीलाई घर बोलाउने सपना बोकेका विकास आफैं भने घर फर्कन सकेनन्। तीन दिदीबहिनीले भाइको हातमा राखी बाँध्ने दिन आउनुअघि नै उनका हातमा कुशको प्रतीकात्मक शवको अन्तिम संस्कार गर्नुपर्ने अवस्था आएको छ।




