Categories समाचार

अस्पतालको गेटबाहिर प्रसूति घटनाबारे अस्पतालको स्पष्टीकरण : आमा–बच्चाको उपचार निःशुल्क गर्ने

Advertisement

राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर महिलाले बच्चा जन्माएको घटनाबारे अस्पताल प्रशासनले प्रारम्भिक विवरण सार्वजनिक गर्दै आमा र नवजात शिशुको उपचार तथा औषधि निःशुल्क गर्ने जनाएको छ।

अस्पतालका अनुसार भदौ २४ गते बिहान करिब २ बजे प्रसवको सुरुवाती अवस्थामा अस्पताल पुगेकी राजविराजकी ३० वर्षीया बविता कुमारी पासवानलाई प्रारम्भिक स्वास्थ्य परीक्षणपछि प्रसूति वार्डको बेड नं. २४ मा भर्ना गरिएको थियो। आवश्यक जाँचसम्बन्धी रिपोर्ट नभएकाले थप अत्यावश्यक जाँच गर्न सुझाव दिइएको अस्पतालको भनाइ छ।

Advertisement

तर, अस्पतालले उपलब्ध गराएको शैयामा आमा र कुरुवा नरहेको र बिहान करिब ४ः४५ बजे अस्पतालको मूल गेटबाहिरै प्रसूति भएको जानकारी प्राप्त भएको अस्पतालले जनाएको छ।

Advertisement

प्रसूति भएपछि आमा र बच्चा सालसहित पुनः प्रसूति वार्डमा आएको र ड्युटीमा रहेका स्वास्थ्यकर्मीले नाल काट्नुका साथै आवश्यक प्रसूति-पश्चात उपचारका लागि अस्पतालमै रहन पटक–पटक आग्रह गरेको भए पनि उनी अस्पतालबाट बाहिरिएको प्रारम्भिक विवरण अस्पतालले सार्वजनिक गरेको छ।

हाल आमा र नवजात शिशु दुवै अस्पतालको बेड नं. २२ मा भर्ना भई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार तथा आवश्यक स्याहार पाइरहेका छन्। अस्पतालले दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

यसैबीच, आज बिहानदेखि सामाजिक सञ्जालमा उक्त घटनासँग सम्बन्धित भिडियो तथा विवरण व्यापक रूपमा सार्वजनिक भएपछि अस्पताल प्रशासनले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अस्पतालले घटनाको वास्तविक तथ्य पत्ता लगाउन निष्पक्ष आन्तरिक छानबिन अघि बढाउने बताएको छ।

अस्पताल प्रशासनले छानबिनबाट कर्मचारी वा सम्बन्धित कुनै पक्ष दोषी देखिएमा प्रचलित कानुन तथा नियमअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। बाह्य छानबिन समिति गठन भए त्यसलाई आवश्यक सूचना, कागजात तथा सहयोग उपलब्ध गराउनेसमेत अस्पतालले स्पष्ट गरेको छ।

अस्पतालले अबदेखि आमा र बच्चाका लागि आवश्यक सम्पूर्ण उपचार, औषधि तथा स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।

अस्पताल परिसरको मूल गेटबाहिरै प्रसूति हुनुपर्ने अवस्था सिर्जना हुनु संवेदनशील र गम्भीर विषय भएको भन्दै अस्पताल प्रशासनले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन प्रसूति सेवा व्यवस्थापन, सेवा प्रवाह र सेवाग्राहीप्रतिको जवाफदेहिता थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *