वीरगन्ज । विपद्का बेला शव व्यवस्थापनमा देखिँदै आएको समस्या समाधान गर्न वीरगन्जस्थित नारायणी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने आधुनिक शवगृह निर्माण गरिने भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशका १२ संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठूलो क्षमताका शवगृह निर्माण तथा विद्यमान संरचनाको क्षमता विस्तार गर्ने निर्णय गरेसँगै नारायणी अस्पताल पनि यस योजनामा परेको हो।
मन्त्रालयको निर्णयअनुसार नारायणीसहित कोशी, गजेन्द्र नारायण सिंह, भरतपुर, भेरी र डडेलधुरा अस्पतालमा शवगृह निर्माण वा क्षमता विस्तारको प्रक्रिया अघि बढाइनेछ। यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला, पाटन, पोखरा, राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एकपटकमा कम्तीमा ५० शव व्यवस्थापन गर्न सक्ने संरचना तयार गरिनेछ।
मन्त्रालयले विपद्का समयमा एकैपटक ठूलो संख्यामा मृत्यु हुने अवस्थामा शव व्यवस्थापनमा हुने कठिनाइलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाएको छ। पछिल्लो भोटेकोशी बाढीका क्रममा समेत शव व्यवस्थापन चुनौतीपूर्ण बनेको उल्लेख गर्दै मन्त्रालयले भविष्यमा यस्ता समस्या दोहोरिन नदिन अस्पतालमै पर्याप्त पूर्वाधार आवश्यक रहेको बताएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताका अनुसार शवगृह केवल शव राख्ने स्थानका रूपमा नभई विपद् व्यवस्थापन, फरेन्सिक परीक्षण र मेडिको–लिगल प्रक्रियालाई व्यवस्थित बनाउने महत्वपूर्ण पूर्वाधार हुनेछ।
नयाँ संरचनाबाट शवलाई सुरक्षित रूपमा संरक्षण गर्न, पहिचान तथा परीक्षण गर्न र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सहज हुने मन्त्रालयको अपेक्षा छ।
मन्त्रालयले विपद्का बेला शव व्यवस्थापनको मुख्य जिम्मेवारी सम्बन्धित अस्पतालले नै व्यवस्थित रूपमा सम्हाल्नुपर्ने भएकाले संघीय अस्पतालहरूमा पर्याप्त क्षमताका शवगृहलाई आवश्यक पूर्वाधारका रूपमा विकास गर्न लागिएको जनाएको छ।




