वीरगञ्ज । हरितालिका तीजको अवसरमा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एसअन्तर्गत वीरगञ्जमा खाद्यान्न तथा सरसफाइसम्बन्धी सामग्री वितरण गरिएको छ।
वीरगञ्जस्थित बिर्ता कारागारमा रहेका महिलालाई लक्षित गरी खाद्यान्न, स्वास्थ्य तथा व्यक्तिगत सरसफाइसम्बन्धी सामग्री वितरण गरिएको हो।
कार्यक्रममा वीरगञ्ज महानगरपालिका–४ का वडा अध्यक्ष जगतप्रसाद कानु प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले तीजको अवसरमा कारागारमा रहेका महिलालाई लक्षित गरी गरिएको सहयोग तथा सामाजिक सेवामूलक कार्यक्रमले सकारात्मक सन्देश दिएको बताउनुभयो।
कार्यक्रममा लायन रोशन गुप्ता, लायन डी.एन. अग्रवाल, सुशील चाचान, बिनोद खण्डेवाल, वीरगञ्ज कारागारका सुरक्षा प्रमुख प्रदीप जैसवाल, गजेन्द्र राउत तथा जेलर प्रमुख सुनिल चौरसियालगायतको उपस्थिति थियो।
लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम एमजेएफका अध्यक्ष वीरेन्द्र साह र लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रलकी अध्यक्ष मिनाक्षी गुप्ताको संयुक्त अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
महिलाहरूको आवश्यकतालाई ध्यानमा राख्दै खाद्यान्नसँगै व्यक्तिगत सरसफाइ तथा स्वच्छतासम्बन्धी सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रमले कारागारमा रहेका महिलालाई आवश्यक सहयोग पुग्ने आयोजकहरूको भनाइ छ।
कार्यक्रमका संयोजक सुमन श्रेष्ठ, के.एम. अन्सारीलगायत लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो।
कार्यक्रमका लागि आवश्यक सम्पूर्ण खर्च अस्ट्रेलियामा बस्दै आएकी लायन लालबहादुर थिङकी छोरी इनु थिङले व्यहोर्नुभएको थियो। कार्यक्रमको सञ्चालन लालबहादुर थिङले गर्नुभएको थियो।




