वीरगंज । जगरनाथपुर गाउँपालिकाका दुई सामुदायिक विद्यालयमा बालिका तथा समावेशी शिक्षा सञ्जाल (GIEN) गठन गरिएको छ। विद्यालयमा सबै बालबालिकाको समान पहुँच, सहभागिता र शैक्षिक निरन्तरता सुनिश्चित गर्ने उद्देश्यले सञ्जाल गठन गरिएको हो।
Accountability Lab Nepal को आर्थिक सहयोग तथा सामाजिक संस्था जिल्ला समन्वय समिति (SODCC), पर्साको प्राविधिक सहकार्यमा सञ्चालित ACCESS परियोजना–FSTP कार्यक्रमअन्तर्गत जगरनाथपुर–५ मसिहानीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र वडा नं. ४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, जगरनाथपुर सिरामा सञ्जाल गठन गरिएको हो।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीले स्वीकृत गरेको ‘बालिका तथा समावेशी शिक्षा सञ्जाल (गठन तथा सञ्चालन) सम्बन्धी मापदण्ड, २०८०’ अनुसार सञ्जाल गठन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा बालिका, अपाङ्गता भएका बालबालिका, सीमान्तकृत तथा सामाजिक–आर्थिक रूपमा पछाडि परेका समुदायका बालबालिकाले शिक्षामा पहुँच, नियमित सहभागिता र निरन्तरताका क्रममा भोगिरहेका समस्या पहिचान गरी समाधानका लागि विद्यालयस्तरबाटै पहल गर्नुपर्नेमा जोड दिइएको थियो।
गठित सञ्जालले विद्यालयमा बालमैत्री, सुरक्षित र समावेशी वातावरण निर्माण, बालिकाको अर्थपूर्ण सहभागिता वृद्धि, विभेद तथा शैक्षिक अवरोधको पहिचान र न्यूनीकरणका लागि काम गर्नेछ। साथै विद्यार्थी तथा अभिभावकका गुनासा, सुझाव र समस्यालाई सम्बन्धित निकायसम्म पुर्याउँदै समाधानका लागि विद्यालय व्यवस्थापन, स्थानीय सरकार र अन्य सरोकारवालासँग समन्वय गर्नेछ।
सञ्जाल गठन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधि, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, Accountability Lab Nepal का प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता थियो।
कार्यक्रममा ‘कसैलाई पनि पछाडि नछोड्ने (Leave No One Behind)’ अवधारणाअनुसार सबै बालबालिकाका लागि समान, सुरक्षित, गुणस्तरीय र समावेशी शिक्षाको वातावरण निर्माण गर्न विद्यालय, परिवार, समुदाय र स्थानीय सरकारबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए।
SODCC पर्साको सहजीकरणमा सम्पन्न कार्यक्रमले विद्यालय छाड्ने जोखिममा रहेका बालबालिकाको पहिचान, उनीहरूको शैक्षिक निरन्तरता तथा शिक्षामा समान सहभागिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




