वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्रहरीले स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले नियमित चेकजाँचका क्रममा भारतबाट वीरगन्जतर्फ आउँदै गरेको BR06AT 6445 नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा भारत, बिहार, मोतिहारी, पलनवा थाना–१० बस्ने करिब ५५ वर्षीय अशोक कुमारको मोटरसाइकलको डिक्कीमा लुकाइराखेको भारतीय मुद्रा फेला परेको हो।
प्रहरीका अनुसार उनको साथबाट भारतीय ५०० दरका ८९१ थान, २०० दरका १ थान र १०० दरका ४३ थान गरी जम्मा ४ लाख ५० हजार भारतीय रुपैयाँ बरामद भएको छ।
मोटरसाइकलसहित नियन्त्रणमा लिइएका अशोक कुमारमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।




