Categories समाचार

मधेस राज्यका लागि छठपछि फेरि आन्दोलन गर्ने यादवको घोषणा

Advertisement

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेश प्राप्त हुँदैमा मधेसी जनताको संघर्ष पूरा नभएको बताएका छन्। उनले मधेसी जनताको आफ्नै शासन, प्रशासन, कानुन र भाषासहितको अधिकार सुनिश्चित गर्न अब ‘मधेस राज्य’ निर्माणको संघर्ष अघि बढाउनुपर्ने बताएका छन्।

जनकपुरधाममा ९ दलीय ‘अग्रगामी मोर्चा’ले आयोजना गरेको मधेस प्रदेशस्तरीय भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै यादवले विद्यमान संरचनाबाट मधेसी जनताले पूर्ण अधिकार प्राप्त गर्न नसकेको दाबी गरे।

Advertisement

उनका अनुसार मधेसी समुदाय लामो समयदेखि भाषा, संस्कृति, पहिचान र जीवनशैलीका आधारमा विभेदमा पर्दै आएको छ। राज्यले मधेसलाई अधिकार दिनेभन्दा पनि शोषण र दोहन गर्ने काम गरेको आरोप लगाउँदै यादवले अहिलेको सरकारको व्यवहारसमेत त्यसबाट फरक नरहेको टिप्पणी गरे।

Advertisement

यादवले वर्तमान सरकारलाई ‘कठपुतली सरकार’को संज्ञा दिँदै मधेसी जनताका सवालमा यसबाट धेरै अपेक्षा गर्न नसकिने बताए। उनका अनुसार चुनावका बेला संघीयता सुदृढ गर्ने र संविधान संशोधन गर्ने प्रतिबद्धता जनाइएको भए पनि सत्तामा पुगेपछि सरकार ती विषयबाट पछि हटेको छ।

उनले प्रधानमन्त्री बालेन शाहमाथि पनि चुनावका बेला मधेसी जनताको मत लिएर अहिले संविधान संशोधनको मुद्दाबाट पन्छिएको आरोप लगाए। सीमाक्षेत्रमा लगाइएका विभिन्न करले सर्वसाधारणमाथि थप आर्थिक भार परेको उनको भनाइ थियो।

निर्वाचन प्रणालीप्रति समेत यादवले प्रश्न उठाए। उनले विद्यमान निर्वाचन प्रणाली भ्रष्टाचारको प्रमुख कारणमध्ये एक भएको दाबी गर्दै समानुपातिक निर्वाचन प्रणालीतर्फ जानुपर्ने धारणा राखे।

यादवले अधिकारको सवालमा सरकार गम्भीर नबने आन्दोलन चर्काउने चेतावनीसमेत दिए। छठ पर्वपछि पनि मधेसी जनताले न्याय र अधिकार नपाए अग्रगामी मोर्चाले थप सशक्त आन्दोलन अघि बढाउने उनले घोषणा गरे।

कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले भने प्राप्त उपलब्धिको रक्षा र बाँकी अधिकार सुनिश्चित गर्न अग्रगामी मोर्चा गठन गरिएको बताए। मोर्चालाई दीर्घकालीन र प्रभावकारी बनाउन आबद्ध दलका नेतृत्वले इमानदारीपूर्वक काम गर्नुपर्नेमा उनले जोड दिए।

राउतले पनि सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरे। विदेश जाने नेपालीको संख्या घटाउने र विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रतिबद्धता जनाएको सरकारले सत्ता पाएपछि झन् धेरै नेपाली विदेशिनुपर्ने अवस्था सिर्जना गरेको उनको आरोप थियो।

उनले वर्तमान सरकार पूर्ण रूपमा असफल भएको दाबी गर्दै देशको नेतृत्व सम्हाल्न आफूहरू तयार रहेको बताए।

जनकपुरको भेलाबाट यादव र राउत दुवैले सरकारप्रति असन्तुष्टि मात्र व्यक्त गरेनन्, मधेसका अधिकारका मुद्दालाई पुनः आन्दोलनको राजनीतिक एजेन्डा बनाउने संकेतसमेत दिएका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *