वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले जिल्लामा पर्यटन प्रवर्द्धनसँगै पर्यटकको सुरक्षा तथा सहजीकरणका लागि नयाँ डिजिटल सूचना सेवा सुरु गरेको छ।
सम्भवत पहिलो पटक प्रहरी कार्यालयले पर्सामा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक तथा पर्यटकीय स्थलहरूको पहिचान गरी ती स्थानसँग सम्बन्धित आवश्यक जानकारी समेटिएको QR कोड र अनलाइन साइट विकास गरेको हो।
प्रहरीका अनुसार उक्त डिजिटल सेवामा पर्यटकीय स्थलसम्म पुग्न लाग्ने अनुमानित समय, सडक तथा यातायातको अवस्था, खाना–नास्ता र बसोबासका लागि होटल, रेस्टुरेन्ट तथा रिसोर्टको सुविधा, नजिकको प्रहरी कार्यालय तथा सम्पर्क नम्बर, नजिकको अस्पताललगायतका जानकारी राखिएको छ।
त्यस्तै, सम्बन्धित पर्यटकीय स्थलसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले Google Maps समेत समावेश गरिएको प्रहरीले जनाएको छ।
पर्यटक तथा सर्वसाधारणले QR कोड स्क्यान गरेर वा parsatourism.pages.dev मा गएर आफूलाई आवश्यक सूचना प्राप्त गर्न सक्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।
प्रहरीले यस डिजिटल सेवाको प्रयोग गरी पर्साका पर्यटकीय तथा धार्मिक स्थलहरूबारे आवश्यक जानकारी लिन सर्वसाधारण तथा पर्यटकलाई आग्रह गरेको छ।
‘पर्यटकको सुरक्षा, पर्यटकको समृद्धि’ भन्ने उद्देश्यसहित सुरु गरिएको उक्त सेवाले जिल्लाको पर्यटन प्रवर्द्धन तथा पर्यटकलाई आवश्यक सूचना उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




