वीरगंज । लामो समय घाममा खटिनुपर्ने प्रहरी कर्मचारीलाई छालाको सुरक्षा र फोटो प्रोटेक्सनबारे सचेत गराइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको स्वास्थ्य अन्तरक्रिया कार्यक्रममा नारायणी अस्पतालका वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डा. अभिषेक सुमनले पराबैंगनी (यूभी) किरण र वातावरणीय प्रभावका कारण छालामा देखिन सक्ने समस्याबारे जानकारी गराउनुभएको हो।
डा. सुमनले लामो समय घामको प्रत्यक्ष सम्पर्कमा रहँदा सनबर्न, चाया–पोतो, एलर्जी तथा छालाको समयअगावै बुढ्यौलीजस्ता समस्या देखिन सक्ने बताउँदै सनस्क्रिन, टोपी तथा सुरक्षात्मक कपडाको प्रयोग गर्न सुझाव दिनुभयो। विशेषगरी बाहिरी ड्युटीमा खटिने प्रहरीलाई घामबाट बच्ने उपाय अपनाउन उहाँले आग्रह गर्नुभयो।
जिल्ला प्रहरी प्रमुख एसपी पवनकुमार भट्टराईले प्रहरी कर्मचारीले विभिन्न वातावरणीय परिस्थितिमा काम गर्नुपर्ने भएकाले स्वास्थ्य सचेतना आवश्यक रहेको बताउनुभयो। स्वस्थ र चुस्त जनशक्तिले मात्रै प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्न सक्ने उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
प्रहरी निरीक्षक सोनी नेमाफुकीको सहजीकरणमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी अधिकृत तथा कर्मचारीको सहभागिता थियो। कार्यक्रममा टोरेन्ट फार्माका दीपेन्द्र यादव, म्यानकाइन्ड फार्माका चन्दन पटेल र बायोरम डर्माका अभिषेक यादवको समेत उपस्थिति रहेको थियो।




