वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साले वीरगंज महानगरपालिका–१५ स्थित बास्तूबिहार चोकबाट कटुवा पेस्तोल, सिक्सर पेस्तोल तथा गोली बरामद गरेको छ।
भदौ ३१ गते विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको गाडी मोबाइल टोलीले रोकिराखेको UP 16 AJ 3301 नम्बरको बेवारिसे कार जाँच गर्ने क्रममा बोरामा लुकाएर राखिएको अवस्थामा २ थान कटुवा पेस्तोल, २ थान सिक्सर पेस्तोल र ७.६२ एमएमका ६ थान गोली बरामद गरेको हो।
बरामद हातहतियार, गोली तथा कारलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रकाश भट्टका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।





