वीरगंज । काठमाडौंको अनामनगरस्थित एक रेष्टुरेन्टबाट ठूलो परिमाणमा स्रोत नखुलेको नगद रकम बरामद भएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२९ स्थित किम्ची रेष्टुरेन्टबाट बुधबार राति ३४ लाख ८५ हजार रुपैयाँ नगद बरामद गरिएको हो।
रकमसहित पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका–२१ का ४० वर्षीय प्रवेश महत्तो र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ का ४२ वर्षीय सन्तोष भुषाल रहेका छन्।
प्रहरी वृत्त सिंहदरबारको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। बरामद रकमको स्रोत तथा घटनासँग सम्बन्धित अन्य विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




