Categories समाचार

एक पद, दुई सिफारिस : पकहामैनपुरको कर्मचारी छनोट प्रक्रियामाथि प्रश्न

Advertisement

वीरगन्ज । पर्साको पकहामैनपुर गाउँपालिकामा सर्वेक्षक पदको कर्मचारी छनोट प्रक्रिया विवादमा तानिएको छ। गाउँपालिकाले एक जना सर्वेक्षक माग गर्दै विज्ञापन प्रकाशित गरे पनि अन्तिम नतिजामा दुई जनालाई नियुक्तिका लागि सिफारिस गरेपछि पदपूर्ति प्रक्रियामाथि प्रश्न उठेको हो।

विज्ञापन नं. ०३/०८३–०८४ मा सर्वेक्षक पदका लागि एक जना मात्र आवश्यक रहेको उल्लेख थियो। तर प्रकाशित अन्तिम नतिजाअनुसार रोल नं. ३ का अभय प्रताप मण्डल धानुक र रोल नं. १६ का रोहित दास तत्मा नियुक्तिका लागि सिफारिस भएका छन्। रोल नं. १० का सन्दिप कुमार प्रजापतिलाई भने वैकल्पिक उम्मेदवारका रूपमा राखिएको छ।

Advertisement

एक जनाका लागि खुलाइएको पदमा दुई जनालाई नियुक्तिका लागि सिफारिस गरिएपछि छनोटको आधार, प्रक्रिया र निर्णयमाथि प्रश्न उठेको छ।

Advertisement

विवादको अर्को पाटो गाउँपालिका अध्यक्ष सुरेश मेहताले अन्तर्वार्ता तथा नियुक्ति प्रक्रिया स्थगित गर्न लिखित निर्देशन दिएको भनिएको विषय हो। अध्यक्षको निर्देशन हुँदाहुँदै प्रक्रिया अघि बढाएर अन्तिम नतिजा सार्वजनिक गरिएको आरोप प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहमाथि लागेको छ।

यससँगै प्रमुख प्रशासकीय अधिकृत साहमाथि कर्मचारी नियुक्तिको क्रममा आर्थिक चलखेल गरेको आरोपसमेत लगाइएको छ। यद्यपि आर्थिक लेनदेनसम्बन्धी आरोपको स्वतन्त्र पुष्टि भइसकेको छैन।

एक पदमा दुई जनाको सिफारिस, प्रक्रिया स्थगनको लिखित निर्देशन र त्यसपछि पनि नियुक्ति प्रक्रिया अघि बढाइएको भनिएको घटनाले गाउँपालिकाको कर्मचारी पदपूर्ति प्रणालीमाथि थप प्रश्न खडा गरेको छ।

यस विषयमा प्रमुख प्रशासकीय अधिकृत साहले भने कुनै किसिमको आर्थिक चलखेल नभएको दाबी गरेका छन्। विवादित नियुक्ति प्रक्रियाको वास्तविकता भने सम्बन्धित कागजात, निर्णय र छानबिनबाट स्पष्ट हुने देखिन्छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *