वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक पूर्वाधार भूमिगत गर्ने योजना अघि बढाइएको छ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बिहीबार बसेको बैठकले सडकको डीपीआरलाई अन्तिम रूप दिँदा विद्युत्, खानेपानी, टेलिकम र केबल नेटवर्कलाई भूमिगत रूपमा समेटी एकीकृत डिजाइन, इस्टिमेट र कार्यान्वयनको व्यवस्था मिलाउन सडक डिभिजन कार्यालय हेटौँडालाई अनुरोध गर्ने निर्णय गरेको हो।
यसअघि तयार डीपीआरमै खानेपानी, विद्युत् र केबल नेटवर्क भूमिगत गर्ने व्यवस्था समेटिएको महानगरपालिकाले जनाएको छ। सडक निर्माणसँगै यस्ता पूर्वाधार व्यवस्थित गरिएपछि भविष्यमा पटक–पटक सडक खन्नुपर्ने समस्या कम हुनुका साथै मुख्य सडक थप व्यवस्थित र सुरक्षित हुने अपेक्षा गरिएको छ।
बैठकले सडक विस्तारका क्रममा सडक सीमाभित्र रहेका विद्युत्, खानेपानी, टेलिकमलगायतका संरचना व्यवस्थापन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। संरचना हटाउने क्रममा सडक तथा नाला क्षेत्रमा थुप्रिएको फोहोर र निर्माण सामग्रीका कारण नाला अवरुद्ध भएको भन्दै तत्काल सरसफाइ गर्नसमेत भनिएको छ।
वर्षायाममा फोहोरका कारण पानीको निकास प्रभावित हुने तथा लामखुट्टे र संक्रमणजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले महानगरपालिकाले सडक डिभिजन कार्यालयलाई तत्काल फोहोर तथा निर्माण सामग्री हटाउन पत्राचार गरेको जनाएको छ।
चाडपर्व नजिकिँदै गर्दा सडक विस्तारसँगै महानगर क्षेत्रको स्वच्छता, सरसफाइ र जनस्वास्थ्यलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको महानगरपालिकाको भनाइ छ।
बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहोरा, सडक डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर दुर्गाप्रसाद, नेपाल विद्युत् प्राधिकरण वीरगंजका निर्मल कुमार फौजदार, नेपाल टेलिकम वीरगंजका प्रमुख इन्जिनियर दिलिप कुमार बर्मा र खानेपानी संस्थान वीरगंजका प्रमुख मोहनदत्त भट्टलगायतको उपस्थिति थियो।




