Categories समाचार

शुक्रबारदेखि भारी वर्षाको सम्भावनापछि पर्सामा सतर्कता अपनाउन प्रशासनको आग्रह

Advertisement

वीरगंज । असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसम बुलेटिनअनुसार उक्त अवधिमा देशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने जनाएको छ।

Advertisement

उत्तर अन्डमान सागर तथा आसपास विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भू–भाग आसपास रहेको र थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’तर्फ सर्ने सम्भावना रहेको प्रशासनले जनाएको छ। यसको प्रभावले मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा बुधबारदेखि नै वर्षा हुन सक्ने बताइएको छ।

Advertisement

भारी वर्षाका कारण बाढी, पहिरो तथा तराईका शहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले प्रशासनले नदी तथा खोलाको तटीय क्षेत्र, खहरे आसपासका बस्ती र पहिरोको जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रशासनले अत्यावश्यक कामबाहेक टाढा तथा रातिको समयमा यात्रा नगर्न, नदी तथा खोलाको किनारमा उच्च सतर्कता अपनाउन र मौसम तथा बाढीसम्बन्धी पूर्वसूचना नियमित रूपमा लिन आग्रह गरेको छ।

बाढी तथा वर्षासम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोग आवश्यक परे १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ मा सम्पर्क गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाद्वारा जारी सूचनामा नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनीसम्बन्धी जानकारी लिइरहनसमेत अनुरोध गरिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *