वीरगंज । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का केन्द्रीय सदस्य आशिफ अहमदले पद तथा संगठनको सदस्यताबाट राजीनामा दिएका छन्।
अहमदले अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दिपक धामीलाई राजीनामा पत्र बुझाउँदै व्यक्तिगत निर्णयका आधारमा नेकपा (एमाले) तथा अनेरास्ववियुसँगको आफ्नो पद, जिम्मेवारी र आबद्धता त्यागेको जनाएका छन्।
उनले आजकै मितिदेखि लागू हुने गरी केन्द्रीय सदस्य पदलगायत संगठनमा रहेको सम्पूर्ण जिम्मेवारी तथा सदस्यताबाट राजीनामा दिएको उल्लेख गरेका छन्।
संगठनमा रहँदा प्राप्त साथ, सहयोग, अनुभव र अवसरका लागि नेतृत्व, सहकर्मी तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै अहमदले आगामी दिनमा पनि सबैप्रति सम्मान र सद्भाव कायम रहने बताएका छन्।




