वीरगञ्ज । नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ को क्षेत्रीय सभापति पदका लागि भाजु राउत कुर्मीले उम्मेदवारी घोषणा गरेका छन्।
वीरगञ्ज महानगरपालिका–३० निवासी कुर्मीले आगामी पार्टी अधिवेशनलाई लक्षित गर्दै उम्मेदवारी घोषणा गरेका हुन्। उनले पार्टी संगठनलाई सक्रिय, सुदृढ, अनुशासित र जनमुखी बनाउँदै कार्यकर्ता तथा जनताबीचको सम्बन्ध थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
दुई दशकभन्दा बढी समयदेखि विभिन्न सामाजिक क्षेत्र तथा संस्थामा नेतृत्वदायी भूमिकामा रहेर काम गरेको अनुभवलाई पार्टी संगठनको सुदृढीकरण र जनसेवामा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएको कुर्मीले बताएका छन्।
उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा संगठन निर्माण र जिम्मेवारी बहन गर्ने प्रतिबद्धताका रूपमा प्रस्तुत गरेका छन्। स्थानीय तहदेखि क्षेत्रीय तहसम्म संगठनलाई थप गतिशील बनाउने, कार्यकर्ताको सम्मान, सहभागिता र क्षमता विकासलाई प्राथमिकता दिने उनको भनाइ छ।
पार्टी र जनताबीचको सम्बन्धलाई थप बलियो बनाउँदै कांग्रेसलाई जनताको सुख–दुःखसँग जोडिएको संगठनका रूपमा अघि बढाउन आफूले इमानदार प्रयास गर्ने कुर्मीले बताएका छन्।
सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय कुर्मीले आफ्नो उम्मेदवारीमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकको साथ, सुझाव र विश्वासको अपेक्षा गरेका छन्।




