Categories समाचार

वीरगंज महानगरमा अब वडामै मालपोत कर संकलन

Advertisement

वीरगंज । वीरगंज महानगरपालिकाले मालपोत कर संकलनको जिम्मेवारी वडा कार्यालयमै हस्तान्तरण गर्ने भएको छ। अब नगरवासीले मालपोत कर बुझाउन महानगरपालिकाको मुख्य कार्यालयसम्म पुग्नुपर्ने छैन।

महानगरपालिकाले असोज १२ गतेदेखि सबै वडा कार्यालयबाटै मालपोत कर संकलन गर्ने व्यवस्था लागू गर्न लागेको हो। नगरवासीलाई स्थानीय तहमै सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ।

Advertisement

महानगरका अनुसार वडा कार्यालयबाटै कर बुझाउने सुविधा सुरु भएपछि नगरवासीको समय, यातायात खर्च तथा कार्यालय धाउनुपर्ने झन्झट कम हुनेछ। सम्बन्धित वडा कार्यालयबाटै करसम्बन्धी सेवा लिन सकिने भएकाले सेवाग्राहीलाई थप सहज हुने अपेक्षा गरिएको छ।

Advertisement

मेयर राजेशमान सिंहले महानगरबाट उपलब्ध हुने सेवाहरूलाई सकेसम्म नागरिकको घरदैलो नजिक पुर्‍याउने नीति अनुसार वडा कार्यालयबाटै मालपोत कर संकलनको व्यवस्था गरिएको बताउनुभएको छ।

उहाँका अनुसार नागरिकले सामान्य सेवाका लागि महानगरपालिका कार्यालयसम्म धाउनुपर्ने अवस्था अन्त्य गर्दै स्थानीयस्तरमै सेवा प्रवाहलाई प्रभावकारी बनाउनेतर्फ महानगरपालिका अघि बढिरहेको छ।

मालपोत कर संकलनका लागि आवश्यक प्रबन्ध मिलाउन प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले सबै वडा कार्यालयलाई निर्देशन दिनुभएको छ। महानगरपालिकाले नगरवासीलाई तोकिएको मितिदेखि सम्बन्धित वडा कार्यालयमै पुगेर मालपोत कर बुझाउन आग्रह गरेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *