Categories समाचार

भोटेकोशी बाढीमा बेपत्ता सागर कर्णको परिवारलाई वीरगंज युवा समाजको राहत

Advertisement

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका–२७ उदयपुर घुर्मी (कुहडी) निवासी चालक सागर कर्णको परिवारलाई वीरगंज युवा समाजले घरमै पुगेर राहत तथा नगद सहयोग गरेको छ।

समाजले कर्णकी श्रीमती सरिता कर्णलाई खाद्यान्न, तरकारी, साबुन, सर्फलगायत सामग्रीसँगै रु. ५ हजार १ सय नगद सहयोग गरेको हो। परिवारका मुख्य कमाउने व्यक्ति सागर बेपत्ता भएपछि श्रीमती, दुई साना बालक तथा वृद्ध आमाबाबुको दैनिकी प्रभावित बनेको छ।

Advertisement

अधिकांश राहत बाढी प्रभावित क्षेत्रमा केन्द्रित भइरहेका बेला वीरगंजमै आर्थिक संकटमा रहेको परिवारको अवस्थालाई ध्यानमा राख्दै घरमै पुगेर सहयोग गरिएको समाजले जनाएको छ।

Advertisement

समाजका अध्यक्ष संजीव थापाले विपद्को पीडा प्रभावित क्षेत्रमा मात्रै सीमित नहुने भन्दै कर्ण परिवारको चुलो बलोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए। कार्यक्रमका संयोजक मनोज गुप्ताले सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि विपद्मा परेका परिवारलाई सहयोग जारी राख्ने प्रतिबद्धता जनाए।

राहत हस्तान्तरण कार्यक्रममा पर्सा जिल्ला फुटबल संघका अध्यक्ष रोशन गुप्ता, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, समाजका सचिव बिनोद धिमाल, कोषाध्यक्ष सुशील श्रेष्ठसहित पदाधिकारी, सदस्य तथा सञ्चारकर्मी आकाश पटेलको उपस्थिति थियो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *