वीरगंज । वीरगंज महानगरपालिकाले नागरिकलाई सरकारी सेवा लिन कार्यालयसम्म धाउनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले सेवा प्रवाहलाई क्रमशः घरदैलो र वडा तहसम्म विस्तार गर्दै आएको छ। यही क्रममा पूर्ण अशक्त तथा हिँडडुल गर्न नसक्ने नागरिकको घरमै पुगेर सामाजिक सुरक्षा नवीकरण गर्ने कार्यलाई निरन्तरता दिइएको छ भने अब मालपोत करसमेत सम्बन्धित वडा कार्यालयबाटै बुझाउन सकिने व्यवस्था गरिएको छ।
महानगर प्रमुख राजेशमान सिंह निर्वाचित भएर जिम्मेवारी सम्हालेपछि पूर्ण रूपमा अशक्त तथा हिँडडुल गर्न नसक्ने सामाजिक सुरक्षा लाभग्राहीलाई कार्यालयसम्म बोलाएर नवीकरण गराउनेभन्दा उनीहरूकै घरमा पुगेर सेवा दिने अभ्यासलाई प्राथमिकता दिइएको महानगरपालिकाले जनाएको छ।
सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका अनुसार ३२ वटै वडाबाट प्राप्त सिफारिसका आधारमा सम्बन्धित लाभग्राहीको घरमै पुगेर सामाजिक सुरक्षा नवीकरण गर्ने गरिएको छ। शाखा प्रमुख बुद्धिमाया गुरुङका अनुसार यस अभियानअन्तर्गत प्रत्येक वर्ष करिब २०० जना पूर्ण अशक्त तथा हिँडडुल गर्न नसक्ने नागरिकको घरमै पुगेर नवीकरण गर्ने गरिएको छ।
घरदैलो सेवामा शाखाका आशिष कुमार कुशवाहा, अमृता साह र रनु दासलगायत कर्मचारी संलग्न रहँदै आएका छन्। यसबाट अशक्त नागरिक तथा उनीहरूका परिवारलाई कार्यालयसम्म आउनुपर्ने झन्झट, समय र खर्च बचत भएको महानगरको भनाइ छ।
वीरगंज महानगरपालिकाको आधिकारिक वेबसाइटमा पनि सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका तथा विभिन्न प्रकारका अपाङ्गता भएका लाभग्राहीसम्बन्धी विवरण तथा फारामहरू राखिएका छन्।
अब वडा कार्यालयबाटै मालपोत
महानगरपालिकाले नागरिकलाई सेवा लिन अझ सहज बनाउने क्रममा २०८३ असोज १२ गतेदेखि ३२ वटै वडा कार्यालयबाट अनिवार्य रूपमा मालपोत कर संकलन गर्ने व्यवस्था मिलाएको छ।
यसअघि मालपोत कर बुझाउन महानगरपालिकाको मुख्य कार्यालय पुग्नुपर्ने अवस्थालाई सहज बनाउँदै अब नगरवासीले आफ्नै वडा कार्यालयबाट कर बुझाउन सक्नेछन्। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले आवश्यक व्यवस्था मिलाउन सबै वडा कार्यालयलाई निर्देशन दिनुभएको छ।
‘सेवा लिन नागरिक होइन, सेवा नागरिकसम्म’
महानगर प्रमुख सिंहले नगरवासीले सरकारी सेवा लिन अनावश्यक समय र खर्च गर्न नपरोस् भन्ने उद्देश्यले सेवाहरूलाई सकेसम्म नागरिकको घरदैलो नजिक पुर्याउने नीति लिइएको बताउनुभएको छ।
त्यसको उदाहरणका रूपमा पूर्ण अशक्त नागरिकको घरमै पुगेर सामाजिक सुरक्षा नवीकरण, वडा कार्यालयबाटै मालपोत कर संकलन तथा नगरवासीको स्वास्थ्य पहुँच सहज बनाउन सञ्चालन हुँदै आएका घरदैलो स्वास्थ्य शिविरजस्ता कार्यक्रमलाई लिन सकिन्छ।
सामाजिक सुरक्षा नवीकरणको हकमा भने यो सुविधा विशेष गरी कार्यालयसम्म हिँडडुल गरेर पुग्न कठिन हुने नागरिकका लागि लक्षित छ। वडा कार्यालयको सिफारिसका आधारमा शाखाले घरमै पुगेर प्रक्रिया पूरा गर्ने भएकाले सेवा लिन सक्ने क्षमता भएका र नसक्ने नागरिकबीचको पहुँचको समस्यालाई पनि सम्बोधन गर्ने प्रयास भएको महानगरको भनाइ छ।
यसरी कर संकलनलाई वडा तहमा लैजानेदेखि अशक्त नागरिकको सामाजिक सुरक्षा नवीकरण घरमै पुगेर गर्ने अभ्याससम्मले वीरगंज महानगरपालिकाले ‘नागरिकलाई कार्यालयमा बोलाउने’ भन्दा ‘सेवा नागरिकको नजिक पुर्याउने’ अभ्यासलाई प्राथमिकता दिएको देखिन्छ।




