वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको सचिवालयले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणमा मेयर राजेशमान सिंहको नाम जोडेर प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।
स्वकीय सचिव सत्यराज घिमिरेद्वारा जारी विज्ञप्तिमा असम्बन्धित व्यक्तिलाई घटनासँग जोडेर प्रतिष्ठामा आँच पुर्याउने गरी समाचार सम्प्रेषण गर्नु दुःखद भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा प्रेस स्वतन्त्रताको सम्मान गर्दै समाचार प्रकाशन गर्दा सत्यता, सन्तुलन, जिम्मेवारी र तथ्यपरकतालाई आधार बनाउन सञ्चारमाध्यमलाई आग्रह गरिएको छ।
मेयर सिंहविरुद्धको नागरिकता सम्बन्धी विषयमा अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दा, सर्वोच्च अदालतमा परेको रिट तथा विशेष अदालतबाट सफाइ पाएपछि नगरप्रमुखका रूपमा पुनः जिम्मेवारीमा फर्किएको घटनाक्रमलाई समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।
अन्य व्यक्तिको पक्राउ प्रकरणसँग मेयर सिंहको न्यायिक प्रक्रियाबाट स्थापित अधिकारलाई जोडेर प्रस्तुत गर्नु तथ्य र सन्दर्भ विकृत गर्ने प्रयास भएको सचिवालयको दाबी छ।
सम्बन्धित सञ्चारमाध्यमले प्रकाशित सामग्रीको आवश्यक खण्डन तथा यथोचित सम्बोधन नगरे प्रचलित कानुन र पत्रकारिता आचारसंहिताअनुसार प्रेस काउन्सिल नेपाललगायत सम्बन्धित निकायमा कानुनी प्रक्रिया अघि बढाउने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ।





