वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ मा ६२ वर्षीया महिलाको हत्या गरी घरमा डकैती गरेको आरोपमा प्रहरीले तीन जना युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार पक्राउ पर्नेमा धोबिनी–५ का १८ वर्षीय चन्दन कुमार पटेल, १८ वर्षीय रामु पासवान र १८ वर्षीय घलथरिया भन्ने राज कपुर बैठा रहेका छन्।
प्रहरीका अनुसार असोज ५ गते बिहान करिब ३ बजे धोबिनी–५ निवासी श्रीनिवास साह तुराहाको दुई तल्ले पक्की घरमा उनकी श्रीमती ६२ वर्षीया लखरजिया देवीको हत्या भएको थियो।
अनुसन्धानका क्रममा तीनै जनाले असोज ५ गते राति करिब ११ः३० बजे राज कपुर बैठाको घरमा गाँजा सेवन गर्दै चोरी गर्ने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ। त्यसपछि उनीहरू करिब २ः३० बजे मृतकको घरको पछाडिको पर्खाल हुँदै माथिल्लो तलामा पुगेका थिए।
प्रहरीका अनुसार झ्यालबाट घरभित्र प्रवेश गरेका उनीहरूले स्टिलको दराज तोडेर नगद तथा गरगहना निकालेका थिए। अर्को कोठामा रहेको टिनको बक्साको ताल्चासमेत फुटाउँदै गर्दा आवाज सुनेर लखरजिया देवी माथिल्लो तलामा पुगेकी थिइन्। त्यही क्रममा आफूहरूलाई देखेपछि तीनै जनाले उनीमाथि कर्तव्य गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
हत्या गरेपछि उनीहरूले घरबाट नगद तथा गरगहना लिएर फरार भएको प्रहरीले जनाएको छ।
घटनाको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट एसओसीओ तथा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थल तथा शव परीक्षणसम्बन्धी आवश्यक मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगंज पठाएको थियो।
अनुसन्धानका क्रममा पक्राउ परेका तीनै जनालाई पर्सा जिल्ला अदालतबाट कर्तव्य ज्यान कसूरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रवक्ता डीएसपी मल्लले जानकारी दिए।
प्रहरीले घटनासँग सम्बन्धित भन्दै सुनजस्तो देखिने चुरा दुई थान, नगद ३ हजार रुपैयाँ, थप ७५० रुपैयाँ, घरको छज्जामा भेटिएको फुटप्रिन्ट, गाडीको स्प्रिङ पत्ता एक थान, पिलास एक थान र चक्कु एक थान बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार चोरी गरिएको रकम र गरगहना तीनै जनाले बाँडफाँट गरेका थिए। पक्राउ परेकामध्ये चन्दन कुमार पटेलको घरबाट चुरा बरामद भएको तथा राज कपुर बैठाको साथबाट खर्च गरेर बाँकी रहेको ७५० रुपैयाँ बरामद भएको हो।




