वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालमा १० जना पत्रकार औपचारिक रूपमा आबद्ध भएका छन्। वीरगंजस्थित क्लासिक बैंकेट होटलमा आइतबार आयोजित कार्यक्रममा नवआबद्ध पत्रकारहरूलाई स्वागत गर्दै प्रमाणपत्र प्रदान गरिएको हो।
संस्थामा आबद्ध हुनेहरूमा अभिलाष गुप्ता, रश्मिराज भण्डारी, सन्तोष कुशवाहा, अर्जुन चौधरी, प्रतीक्षा श्रेष्ठ, पूजा महतो, जितेन्द्र साह, भगवानप्रसाद कुर्मी (कुणाल), पुनम चौधरीलगायत रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछानेले नवआबद्ध पत्रकारहरूलाई गम्छा तथा टीका लगाएर प्रमाणपत्र प्रदान गरे। उनले संस्थाले औपचारिक कार्यक्रममार्फत पत्रकारहरूलाई आबद्ध गराएकोमा अध्यक्ष आनन्द पटेल, नवनिर्वाचित अध्यक्ष प्रणय साह, महासचिव राकेश कुमार साहसहितको टोलीलाई धन्यवाद दिए।
लामिछानेले सञ्चार क्षेत्रमा आर्थिक चुनौती बढिरहेको उल्लेख गर्दै पत्रकारहरूले प्रविधिको सहजतासँगै खोजमूलक र अनुसन्धानात्मक पत्रकारितालाई प्राथमिकता दिनुपर्ने बताए। तथ्यमा आधारित र जनसरोकारका विषयमा पत्रकारहरू थप सक्रिय हुनुपर्ने उनको भनाइ थियो।
नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराले पत्रकारितामा देखिएका चुनौती, सञ्चारमाध्यमको आर्थिक अवस्था तथा पत्रकारले भोग्दै आएका समस्याबारे धारणा राख्दै व्यावसायिक सुरक्षा, श्रमको सम्मान र प्रेस स्वतन्त्रताका लागि पत्रकारबीच सहकार्य आवश्यक रहेको बताए।
महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले मञ्चले पत्रकारितासँग सम्बन्धित महत्वपूर्ण विषय उठाउँदै आएको भन्दै महासंघले संस्थासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।
समाजवादी प्रेस संगठन नेपालका मधेस प्रदेश अध्यक्ष मनोज पटेल र प्रेस सेन्टर नेपालका मधेस प्रदेश अध्यक्ष निरज पिठाकोटे मगरले नवआबद्ध पत्रकारहरूलाई बधाई दिँदै पत्रकारिताका चुनौती सामना गर्न एकता, सहकार्य र व्यावसायिक दक्षता आवश्यक रहेको बताए।
संस्थाका सल्लाहकार तथा वरिष्ठ पत्रकार प्रताप श्रेष्ठले पत्रकारहरू विभिन्न दबाब र घेराबन्दीमा पर्ने गरेको उल्लेख गर्दै पत्रकारिताको स्वतन्त्रता, विश्वसनीयता र पेशागत सुरक्षामाथि गम्भीर बहस आवश्यक रहेको बताए। एआईको बढ्दो प्रयोगले पत्रकारितामा नयाँ चुनौती थपिए पनि त्यसलाई अवसरका रूपमा उपयोग गर्दै पत्रकारहरूले मौलिकता, तथ्य जाँच र खोजमूलक क्षमता बलियो बनाउनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव तथा प्रेस युनियनका अध्यक्ष विजय चौहान, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भुकुमार सुमन, पत्रकार जगत राई, प्याब्सन पर्साकी वरिष्ठ उपाध्यक्ष सुशीला साह, महानगर अध्यक्ष राहुल श्रीवास्तव, महासचिव अमित आलोकलगायतले शुभकामना मन्तव्य राखेका थिए।
नवआबद्ध पत्रकार पूजा महतोले नयाँ कुरा सिक्ने, अनुभवी पत्रकारसँग सहकार्य गर्ने र समूहमा काम गर्ने उद्देश्यले संस्थामा आबद्ध भएको बताइन्।
संस्थाका अध्यक्ष आनन्द पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष वीरेन्द्र साहले स्वागत मन्तव्य तथा महासचिव राकेश कुमार साहले सहजीकरण गरेका थिए। कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उपस्थिति थियो।




