वीरगंज । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारीका लागि पर्सा जिल्ला संयोजकमा विजय कर्ण मनोनीत भएका छन्।
नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको निर्णयअनुसार कर्णलाई पर्सा जिल्ला संयोजकको जिम्मेवारी दिइएको हो। असोज ३ गते उनलाई पठाइएको पत्रमा जिल्लाका साथीहरूको राय–सुझाव तथा केन्द्रीय प्रतिनिधिको सिफारिसका आधारमा जिल्ला संयोजक मनोनयन गरिएको उल्लेख छ।
पत्रमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका तय गरिएको जनाइएको छ। केन्द्रीय महाधिवेशन भने मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय भएको उल्लेख छ।
महाधिवेशन तयारीका क्रममा जिल्लाको संगठनलाई मजबुत बनाउन तथा अधिवेशनहरू सम्पन्न गर्न कर्णलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ।
पत्रमा कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने दायित्व रहेको दाबीसमेत गरिएको छ। साथै आवेग, उत्तेजना र गालीगलौजभन्दा संयमता, धैर्यता र हार्दिकताका साथ पार्टीलाई पुनः सबल र सक्षम बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।





