काठमाडौं । भारतीय सेनाबाट सेवानिवृत्त भएर घर बनाउने सपना बुनेका एक भूतपूर्व सैनिक यतिबेला सामाजिक सञ्जालमा सासु-ससुरा र जेठान पक्षलाई गालीगलौज गरेको अभियोगमा अदालतको कठघरामा पुगेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती-३ एकताटोल बस्ने ४७ वर्षीय डमरकुमार क्षेत्रीविरुद्ध साइबर अपराधको मुद्दा दर्ता भएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले विद्युतीय कारोबार ऐन अन्तर्गत काठमाडौं बिहीबार जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ । पारिवारिक विवादका क्रममा सामाजिक सञ्जाल फेसबुकमा सासु-ससुरा र जेठानलगायतका आफन्तलाई लक्षित गरी अभद्र तथा अपाच्य शब्द प्रयोग गरी चरित्र हत्या गरेको कसुर उनीमाथि लगाइएको छ । लगातार परेको सार्वजनिक बिदाका कारण अदालती कारबाही सुरु हुन नसक्दा क्षेत्री २१ दिनदेखि प्रहरी हिरासतमा छन् ।
५० लाखको विवाद, फेसबुकमा गाली
अभियोग पत्रका अनुसार क्षेत्री भारतीय सेनामा कार्यरत छँदा उनको तलब खाताको नियन्त्रण र प्रयोग उनकी श्रीमतीले गर्दै आएकी थिइन् । जागिरका क्रममा खाताबाट निरन्तर रकम निकालिएको मेसेज आएपछि सोध्दा श्रीमतीले उक्त रकम माइततर्फ लगानी गरेको बताउने गरेकी थिइन् । २०७४ सालमा भारतीय सेनाबाट सेवानिवृत्त भई पेन्सनमा आएका क्षेत्रीले कावासोतीमा रहेको जग्गामा घर बनाउनका लागि श्रीमतीसँग रकम माग गर्दा खाताबाट निकालिएको करिब ५० लाख रुपैयाँ फिर्ता नभएको बयान दिएका छन् ।
रकमका विषयमा विवाद बढेपछि उनले सासू र जेठान लगायतका ससुराली पक्षका आफन्तहरूलाई बोलाएर हरहिसाब मागेका थिए । तर ससुराली पक्षले घरव्यवहार चलाउँदा पैसा खर्च भइहाल्छ भन्दै उल्टै गालीगलौज र हातपातको प्रयास गरेको आरोप क्षेत्रीको छ । सोही आक्रोशका कारण क्षेत्रीले आफ्नो फेसबुक प्रोफाइलबाट ‘कस्तो चोर खान्दानमा बिहे गरिएछ’ भन्ने स्टाटस लेखी कमेन्ट तथा मेसेजमा अश्लील र अपमानजनक शब्द प्रयोग गरी आफन्तको चरित्र हत्या गरेको अभियोग छ ।
भोटाहिटीबाटै पक्राउ, २१ दिनदेखि हिरासत
फेसबुकमा चरित्र हत्या हुने गरी पोस्ट तथा कमेन्ट गरिएपछि पीडित (जेठान) ले २०८३ असार २५ गते साइबर ब्युरोमा निवेदन दिएका थिए । त्यसपछि २०८३ भदौ २२ गते किटानी जाहेरी परेको र सोही दिन नेपाल प्रहरीको साइबर ब्युरोले भोटाहिटीबाट क्षेत्रीलाई पक्राउ गरेको थियो ।
भदौ ३० गते अधिकारी समक्ष बयान दिँदै क्षेत्रीले आवेशमा आएर फेसबुकमा गालीगलौजपूर्ण पोस्ट गरेको स्वीकारेका थिए । अभियोग पत्रमा प्रतिवादी क्षेत्रीलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुरमा सजायको मागदाबी गरिएको छ । उक्त कानुनी व्यवस्था अनुसार कम्प्युटर वा इन्टरनेटजस्ता विद्युतीय सञ्चार माध्यममा सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्ध वा कसैप्रति घृणा फैलाउने, अपमान गर्ने वा चरित्र हत्या गर्ने सामग्री सम्प्रेषण गरेमा १ लाख रुपैयाँसम्म जरिबाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान रहेको छ ।
यसैगरी, कसुरमा प्रयोग भएको मोबाइल फोन ऐनको दफा ५६ बमोजिम जफत गर्न माग गरिएको छ । साथै, विद्युतीय कारोबार ऐनको दफा ५८ (क) र दफा ७६ बमोजिम पीडितलाई मनासिव क्षतिपूर्ति भराउन तथा अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउनसमेत अदालतसमक्ष मागदाबी लिइएको छ ।
सरकारी वकिलको कार्यालयले अभियोग पत्र दायर गरेसँगै अब काठमाडौं जिल्ला अदालतमा प्रतिवादीको थुनछेक बहस सुरु हुनेछ । थुनछेक बहसपछि अदालतले उनलाई साधारण तारेखमा छाड्ने, धरौटी माग्ने वा पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गर्नेछ । साभार : टेकपाना




