काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भई कैद सजाय पाएका स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका पूर्व खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरसियामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेरि अनुसन्धान थालेको छ।
अख्तियार स्रोतका अनुसार म्याक्सीम ट्रेडर्ससँग जोडिएको अर्को फाइलमा ८ करोड ५९ लाख रुपैयाँको आर्थिक अनियमितताको आरोपबारे अनुसन्धान अघि बढाइएको हो। अनुसन्धानमा चौरसियाका छोरा राजनको समेत संलग्नता रहेको आशंका गरिएको छ।
चौरसियाले अकुत सम्पत्तिबाट विभिन्न स्थानमा जग्गा खरिद गरेको तथा रकम लुकाउन परिवारका सदस्यका बैंक खाता र सहकारी प्रयोग गरेको आशंका अनुसन्धानमा गरिएको बताइएको छ। उनकी श्रीमती सचिव रहेको श्रीनिधि सहकारीमार्फत रकम जम्मा, निकासी तथा स्थानान्तरण गरिएको आशंका समेत गरिएको छ।
त्यस्तै, छोराको नाममा रहेको एग्रो फर्ममा बाख्रापालन गर्ने प्रयोजन देखाएर बैंकबाट करिब ४ करोड रुपैयाँ ऋण लिई घोषित प्रयोजनमा प्रयोग नगरी ब्याजमा लगाएको आरोपमाथि समेत अनुसन्धान भइरहेको बताइएको छ।
यसअघि मेमोग्राफी मेसिन खरिदमा म्याक्सीम ट्रेडर्स इनकर्पोरेसनका सञ्चालक सुन्दर भुषालसँग मिलेमतो गरी अनियमितता गरेको अभियोगमा विशेष अदालतले चौरसियालाई चार महिना कैद र २० हजार रुपैयाँ जरिवाना सुनाएको थियो।
यसैबीच, स्वास्थ्य सेवा विभागले अघि बढाएको करिब ३० करोड रुपैयाँको पोर्टेबल युएसजी खरिद प्रक्रियामा समेत चौरसियाको भूमिका विवादमा आएको थियो। निश्चित कम्पनीको उत्पादनसँग मात्रै मिल्ने गरी प्राविधिक स्पेशिफिकेशन तयार पारेर प्रतिस्पर्धा सीमित गरिएको आरोपमाथि समेत अनुसन्धान भइरहेको बताइएको छ।
दुई सय थान पोर्टेबल युएसजी खरिदका लागि प्रतिमेसिन करिब १० लाख रुपैयाँ लागत पर्ने उपकरणलाई १५ लाख रुपैयाँका दरले खरिद गर्ने प्रक्रिया अघि बढाइएको दाबीसमेत गरिएको थियो। साभार : ज्योति दैनिक




