वीरगंज। पर्साको धोविनी गाउँपालिकामा सामुदायिक सिकाइ केन्द्रको प्रभावकारी सञ्चालन, संस्थागत सुदृढीकरण र दिगोपन सुनिश्चित गर्न स्थानीय तहसँग पैरवी तथा समन्वयसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
अकाउन्टेबिलिटी ल्याब नेपालको आर्थिक सहयोग तथा सामाजिक संस्था जिल्ला समन्वय समिति (एसओडीसीसी), पर्साको प्राविधिक सहयोगमा सञ्चालित पहुँच परियोजनाअन्तर्गत गाउँपालिकाको आयोजनामा वडा नं. ४ स्थित गाउँपालिका भवनमा कार्यक्रम गरिएको हो।
कार्यक्रममा सामुदायिक सिकाइ केन्द्रलाई स्थानीय शिक्षा प्रणालीसँग जोड्दै समुदायमा सिकाइका अवसर विस्तार गर्न स्थानीय सरकार र सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।
सो अवसरमा ‘धोविनी गाउँपालिका–सामुदायिक सिकाइ केन्द्र सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८३’ माथि छलफल गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो। कार्यविधिले केन्द्रहरूको सञ्चालन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन, जिम्मेवारी स्पष्ट पार्न र संस्थागत सुदृढीकरणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा सामुदायिक सिकाइ केन्द्रको वर्तमान अवस्था, स्थानीय शिक्षा प्रणालीसँगको आबद्धता, आवश्यक नीतिगत तथा संस्थागत सहयोग र दीर्घकालीन सञ्चालनका लागि स्रोतसाधन व्यवस्थापनलगायतका विषयमा छलफल गरिएको थियो। साथै, जीवनोपयोगी सीप सिक्ने अवसर विस्तार गर्न र औपचारिक शिक्षाको पहुँचबाट टाढा रहेका नागरिकलाई समेत सिकाइ प्रक्रियामा जोड्न केन्द्रहरूको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिइएको थियो।
कार्यक्रममा वडाध्यक्षहरू अबास मिया, राजकिशोर प्रसाद कुर्मी, मनाउर अहमद, देवेन्द्र प्रसाद कुर्मी र बन्दु साद तेलीलगायत जनप्रतिनिधि सहभागी थिए। गाउँपालिका उपाध्यक्षका प्रतिनिधि श्याम प्रसाद कुर्मी, शिक्षा शाखा प्रमुख जितेन्द्र प्रसाद चौहान, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, बाल क्लब, नागरिक समाज र अकाउन्टेबिलिटी ल्याब नेपालका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
त्यसैगरी, एसओडीसीसी पर्साका कार्यकारी निर्देशक रुपक पाण्डेयसहित साझेदार संस्थाका प्रतिनिधिहरू अमरेश यादव, दिपेश पटेल, अकलेश साह, विशाल गुप्ता, गोविन्द पटेल, निरज पटेल र मुना पटेललगायतको उपस्थिति थियो।
कार्यक्रमले सामुदायिक सिकाइ केन्द्रलाई स्थानीय शिक्षा प्रणालीसँग आबद्ध गर्दै प्रभावकारी, व्यवस्थित र दिगो रूपमा सञ्चालन गर्न तथा स्थानीय सरकार, विद्यालय र नागरिक समाजबीचको समन्वय र सहकार्यलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




