वीरगंज । काठमाडौं उपत्यकामा लागुऔषध खैरो हेरोइन आपूर्ति गर्ने आरोपमा वीरगंजका एक व्यक्ति ३०० ग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका–४ मा शंकास्पद अवस्थामा फेला परेका पर्साको वीरगंज महानगरपालिका–३१ निवासी ४१ वर्षीय बासुर्दिन मियाँलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार चेकजाँच गर्न खोज्दा मियाँले प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेपछि चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरी उनलाई नियन्त्रणमा लिइएको हो। उनको साथबाट ३०० ग्राम खैरो हेरोइन र एउटा मोबाइल बरामद गरिएको ब्यूरोले जनाएको छ।
ब्यूरोको अनुसन्धानअनुसार मियाँले पछिल्लो तीन महिनादेखि प्रत्येक पटक २०० ग्रामका दरले पाँचदेखि छ पटकसम्म काठमाडौं उपत्यकामा खैरो हेरोइन आपूर्ति गरिसकेको खुलेको छ। भारतबाट वीरगंजको रक्सौल नाका हुँदै काठमाडौंमा लागुऔषध आपूर्ति गर्ने गिरोहको निगरानी गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बरामद लागुऔषधसम्बन्धी घटनामा लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार १५ वर्षदेखि जन्मकैदसम्मको कैद र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको ब्यूरोले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।




