Categories शिक्षा समाचार

भव्य टाउनहलमा विद्यार्थी भुइँमा, कुर्सी र त्रिपालसमेत नहुँदा रास्वपा नेता गुप्ताको प्रश्न

Advertisement

वीरगंज। बाराको प्रसौनी गाउँपालिका–२ स्थित टाउनहलमा श्री बेंगा साह माध्यमिक विद्यालयका विद्यार्थीहरूबीच आयोजित अन्तरकक्षा वक्तृत्व कार्यक्रममा विद्यार्थीहरूलाई भुइँमा बसाइएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विनय गुप्ताले प्रश्न उठाएका छन्।

कार्यक्रमस्थलमा अतिथिका लागि कुर्सीको व्यवस्था भए पनि आफ्नो प्रतिभा प्रस्तुत गर्न आएका विद्यार्थीहरू भुइँमा बसेको तस्बिर सार्वजनिक भएपछि गुप्ताले कार्यक्रमको व्यवस्थापन र सम्बन्धित निकायको प्राथमिकतामाथि प्रश्न गरेका हुन्।

Advertisement

गुप्ताले राजनीतिक दलका कार्यक्रमका लागि नेताहरूलाई सोफा, कार्यकर्तालाई कुर्सी तथा खाजा–नास्ताको व्यवस्था गर्न स्रोत जुटाउन सकिने भए पनि विद्यार्थीका लागि सामान्य बसाइको व्यवस्था गर्न किन नसकिएको भन्दै प्रश्न उठाएका छन्।

Advertisement

उनले विद्यार्थीहरू देशका भविष्य भएकाले उनीहरूलाई सम्मानजनक वातावरण उपलब्ध गराउनु स्थानीय सरकार, जनप्रतिनिधि तथा आयोजकको दायित्व भएको बताएका छन्।

“नेता र कार्यकर्ताको सुविधाका लागि स्रोत जुटाउन सकिन्छ भने विद्यार्थीको सम्मान र सुविधाका लागि किन सकिँदैन?” भन्ने प्रश्न उठाउँदै गुप्ताले भवन र मञ्च भव्य बनाउँदैमा विकास नहुने, सोच र प्राथमिकता पनि ठूलो हुनुपर्ने धारणा राखेका छन्।

विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिने कार्यक्रममा उनीहरूकै बसाइको उचित व्यवस्था नहुनुले शिक्षा र विद्यार्थीको सम्मानप्रति सम्बन्धित निकायको प्राथमिकताबारे प्रश्न उठाएको छ।

गुप्ताले शिक्षालाई भाषणमा मात्र नभई व्यवहारमै प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। यस विषयमा प्रसौनी गाउँपालिका तथा कार्यक्रम आयोजकको आधिकारिक प्रतिक्रिया भने प्राप्त भएको छैन।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *