वीरगंज । बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ मा रहेको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) को अव्यवस्थित सञ्चालनले स्वास्थ्य र वातावरणमा असर परेको भन्दै पर्साको वीरगंज महानगरपालिका–१६ नगवाका स्थानीयवासीले उचित तथा दीर्घकालीन फोहोर व्यवस्थापनको माग गरेका छन्।
नगवावासीले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाउँदै डम्पिङ साइटबाट निस्कने दुर्गन्ध, सम्भावित जल प्रदूषण तथा झिँगा र लामखुट्टेको प्रकोपले स्थानीयको जनजीवन प्रभावित भएको दाबी गरेका छन्।
ज्ञापनपत्रमा विभिन्न क्षेत्रबाट संकलन गरिएको फोहोर उचित योजना र व्यवस्थापनबिना विसर्जन गर्दा दुर्गन्ध फैलिनुका साथै जमिनमुनिको पानी तथा नदीको मुहान प्रदूषित हुने जोखिम बढेको उल्लेख छ। यसबाट श्वासप्रश्वास, झाडापखाला, पेट, छाला तथा आँखासम्बन्धी रोग र लामखुट्टे तथा झिँगाबाट सर्ने रोगको जोखिम बढेको स्थानीयवासीको दाबी छ।
स्थानीयले फोहोर व्यवस्थापनको समस्या समाधान गर्न तत्काल र दीर्घकालीन उपाय अवलम्बन गर्न माग गरेका छन्। उनीहरूले आगामी सात दिनभित्र नियमित रूपमा तोकिएको समयमा फोहोर संकलन गर्न, डम्पिङ साइट वरिपरि औषधि छर्केर दुर्गन्ध नियन्त्रण गर्न तथा फोहोर वर्गीकरण गरेर मात्र विसर्जन गर्ने व्यवस्था मिलाउन माग गरेका छन्।
त्यस्तै, आगामी १५ दिनभित्र उच्चस्तरीय समिति गठन गरी समस्याको पहिचान, अध्ययन तथा दीर्घकालीन समाधानको योजना तयार गरी कार्यान्वयन गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा गरिएको छ।
स्थानीयवासीले तोकिएको समयसीमाभित्र माग सम्बोधन गर्न आवश्यक कदम नचालिए विभिन्न क्षेत्रबाट फोहोर बोकेर आउने सवारीसाधनलाई डम्पिङ साइटमा प्रवेश गर्न नदिने चेतावनी दिएका छन्। उनीहरूले फोहोर व्यवस्थापन केन्द्रको विरोधमा शान्तिपूर्ण आन्दोलन गर्ने पनि जनाएका छन्।
नगवावासीका प्रतिनिधि ओमनाथ साह गोढले हस्ताक्षर गरेको ज्ञापनपत्रमा फोहोर व्यवस्थापनको समस्यालाई गम्भीरतापूर्वक लिई स्थानीयको स्वास्थ्य र स्वच्छ वातावरणको हक संरक्षण गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।





