वीरगंज । चेक अनादरसम्बन्धी मुद्दामा बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार कलैयाबाट पक्राउ गरेको हो।
बारा प्रहरीका प्रवक्ता एवं डीएसपी मीनबहादुर घलेका अनुसार बारा जिल्ला अदालतको कात्तिक १३ गतेको आदेशअनुसार कुशवाहालाई पक्राउ गरिएको हो।
कलैया उपमहानगरपालिका–२३ निवासी अनिलकुमार पटेलले कुशवाहाविरुद्ध चेक अनादरसम्बन्धी मुद्दा दर्ता गराएका थिए। वादीको बिगो दाखिला गराउन कुशवाहालाई पक्राउ गरी अदालतमा उपस्थित गराउन अदालतले प्रहरीलाई पत्राचार गरेको थियो।
सोही आदेशका आधारमा पक्राउ परेका वडाध्यक्ष कुशवाहालाई आवश्यक कानुनी प्रक्रियाका लागि अदालतमा उपस्थित गराइने डीएसपी घलेले जानकारी दिएका छन्।





