वीरगंज । आस्था, श्रद्धा र लोकसंस्कृतिको महापर्व छठको अवसरमा नेपाल पोष्ट मिडिया प्रा.लि.ले आफ्नो दोस्रो छठ गीत ‘हमही लेके जाएम माई के बहंगिया’ सोमबार साँझ सार्वजनिक गर्ने भएको छ।
छठ पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्वलाई समेटेर तयार पारिएको गीतको सम्पूर्ण छायाङ्कन सम्पन्न भइसकेको छ। भिडियो निर्देशक सन्तोष साहका अनुसार वीरगंज तथा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको भिडियोमा छठको मौलिक परम्परा, पूजा विधि तथा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने दृश्यलाई विशेष रूपमा प्रस्तुत गरिएको छ।
गीतकार तथा गायक पत्रकार मनोज पटेलका अनुसार यसअघि सार्वजनिक गरिएको छठ गीत ‘हाली हाली उग हो सुरुज देव’ ले दर्शक तथा सङ्गीतप्रेमीबाट राम्रो प्रतिक्रिया पाएको थियो। सोही सफलतापछि यस वर्ष दीपावली तथा छठ पर्वको शुभकामना स्वरूप नयाँ गीत ल्याउन लागिएको उनले बताए।
गीतको भावबारे जानकारी दिँदै पटेलले रोजगारीका सिलसिलामा घरभन्दा बाहिर रहेका श्रीमान्लाई समयमै घर फर्किएर छठ पूजामा सहभागी हुन आग्रह गरिएको बताए।
गीतमा मनोज पटेल र किरण राजको स्वर रहेको छ भने शब्द मनोज पटेल र सङ्गीत मुन्ना मुस्कानको रहेको छ। भिडियोमा बबिता पटेल, पत्रकार विनोद पटेल, सन्ध्या साह, अमिता पटेल र मनोज पटेलको अभिनय रहेको छ।
कृष्णाको भिडियोग्राफी तथा जावेद हवारीको सम्पादन र मिक्सिङ रहेको उक्त गीत सोमबार साँझ नेपाल पोष्ट डेलीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ।





