वीरगंज । वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १८ दिने नवजात शिशुको मृत्युको घटनाले चर्किएको विवाद थप तनावपूर्ण बनेको छ। उपचारका क्रममा शिशुको मृत्यु भएपछि परिवारलाई साथ दिँदै घटनाबारे जानकारी माग्न अस्पताल पुगेका दिलपाल साहमाथि अस्पताल प्रशासनका व्यक्तिहरूले कुटपिट गरेको आरोप लागेको छ।
बाराको कलैया उपमहानगरपालिका–२२, मदुलवाका सन्दीप साहका १८ दिनका छोराको उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको थियो। जण्डिस भएपछि गत शनिबार अस्पताल भर्ना गरिएको शिशुको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएको परिवारको आरोप छ।
घटनाको वास्तविक कारण सार्वजनिक गर्न र सीसीटीभी फुटेज उपलब्ध गराउन माग गर्दै आफन्त तथा स्थानीयले प्रदर्शन गर्दै आएका छन्। परिवारले अहिलेसम्म शिशुको शवसमेत बुझेका छैनन्।
यसैबीच, मृतक शिशुको आफ्नै मामा पर्ने साह घटनाबारे जानकारी लिन र परिवारलाई न्याय दिलाउन माग गर्दै अस्पताल पुगेका थिए। तर, अस्पताल प्रशासनले अन्य सांसदबाट परिचालित भएको आरोप लगाउँदै आफूमाथि कुटपिट गरेको साहको दाबी छ।
साहका अनुसार अस्पताल प्रशासनका ४/५ जनाले उनीमाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका साहलाई सुरुमा नारायणी अस्पताल पुर्याइएको थियो। त्यहाँबाट थप उपचारका लागि वीरगंज हेल्थ केयर रेफर गरिएको हो। हाल उपचाररत साहको टाउको, पेट तथा संवेदनशील अंगमा चोट लागेको बताइएको छ।
साहले आफूलाई कुटपिट गर्ने व्यक्तिहरूमाथि कारबाही गर्नुको सट्टा उल्टै प्रहरीले नियन्त्रणमा लिएर करिब चार घण्टासम्म मोबाइलको कल डिटेल जाँच गरेको आरोपसमेत लगाएका छन्।
न्याय माग्न अस्पताल पुगेका आफन्तमाथि नै कुटपिट भएको आरोप सार्वजनिक भएपछि घटनाले थप गम्भीर रूप लिएको छ। उपचारमा लापरबाही भएको परिवारको आरोप, सीसीटीभी फुटेज सार्वजनिक गर्न गरिएको माग र घटनाबारे जानकारी लिन पुगेका साहमाथि भएको भनिएको कुटपिटले अस्पताल प्रशासनको भूमिकामाथि समेत प्रश्न उठाएको छ।
एकातिर १८ दिने शिशुको मृत्युको कारणबारे परिवारले जवाफ पाउन सकेको छैन भने अर्कोतिर घटनाबारे प्रश्न उठाउने आफन्तमाथि नै कुटपिट भएको आरोप छ। घटनाको निष्पक्ष छानबिन गरी शिशुको मृत्युको वास्तविक कारण सार्वजनिक गर्न तथा साहमाथि कुटपिट भएको आरोपको सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने माग उठेको छ।
यस घटनाबारे नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रशासनको आधिकारिक धारणा प्राप्त हुन सकेको छैन। शिशुको मृत्यु र दिलपाल साहमाथि कुटपिट भएको आरोपबारे अस्पताल प्रशासनको प्रतिक्रिया आउन बाँकी छ।





