वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको निजी निवासमा आगजनी तथा तोडफोड गरेको अभियोगमा धरौटीमा रिहा भएका लियाकत अलीलाई पनि पुर्पक्षका लागि कारागार पठाउनुपर्ने मागसहित परेको पुनरावेदनमाथि आज उच्च अदालतमा सुनुवाइ हुँदैछ।
जिल्ला अदालत पर्साले लियाकत अलीलाई धरौटीमा रिहा गर्ने आदेश दिएपछि निवेदक पक्षले उक्त आदेश बदर गरी उनलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा पुनरावेदन गरेको हो।
यसअघि सोही घटनामा संलग्न रहेको अभियोग लागेका अब्बु भन्ने अयुब हुसेन र हिन्दु सम्राट सेनाका उपाध्यक्ष रञ्जन सिंहलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो। उनीहरू हाल कारागारमा छन्।
एउटै घटनामा तीन जनामाथि अभियोग लाग्दा दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने र अर्का एक जनालाई धरौटीमा रिहा गर्ने आदेश आएको भन्दै निवेदक पक्षले असन्तुष्टि जनाएको छ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते मेयर सिंहको निजी निवासमा आगजनी तथा तोडफोड भएको थियो। उक्त घटना आन्दोलनको आवरणमा व्यक्तिगत रिसइबी साँध्ने उद्देश्यले गराइएको निवेदक पक्षको दाबी छ।
अब उच्च अदालतको सुनुवाइबाट लियाकत अलीलाई धरौटीमा रिहा गर्ने जिल्ला अदालतको आदेश सदर हुने वा बदर हुने भन्ने विषय टुंगो लाग्नेछ।





