वीरगंज । वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले उपचारका क्रममा १५ दिने नवजात शिशुको मृत्यु भएको घटनाबारे विस्तृत प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको छ।
अस्पतालका अनुसार २०८३ कात्तिक २९ गते साँझ अस्पताल ल्याउँदा शिशुको अवस्था नै अत्यन्त गम्भीर थियो। तीन दिनदेखि ज्वरो, शरीर पहेँलो हुने तथा सात घण्टाभित्र ५ देखि ७ पटकसम्म कम्पन आएको अवस्थामा शिशुलाई अस्पताल भर्ना गरिएको थियो। परीक्षण गर्दा बिलिरुबिनको मात्रा २६.४ mg/dL रहेको अस्पतालले जनाएको छ।
अस्पतालले उपचारका क्रममा १२ घण्टाभित्र बिलिरुबिनको मात्रा घटेर १५.१ mg/dL पुगेको र विशेषज्ञ चिकित्सकको निगरानीमा फोटोथेरापी, एन्टिबायोटिक तथा अन्य आवश्यक उपचार गरिएको जनाएको छ।
तर, मंसिर १ गते दिउँसो शिशुको श्वासप्रश्वासमा समस्या देखिएपछि CPR, भेन्टिलेटर तथा आवश्यक औषधिमार्फत जीवनरक्षाको प्रयास गरिएको भए पनि साँझ ५:०५ बजे चिकित्सकले मृत घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ।
अक्सिजन अभावको आरोप अस्वीकार
शिशुको मृत्यु अस्पतालमा अक्सिजन अभावका कारण भएको भन्ने समाचार तथा दाबीप्रति अस्पतालले आपत्ति जनाएको छ। अस्पतालमा केन्द्रीय अक्सिजन प्लान्ट, सिलिन्डर म्यानिफोल्ड, NICU का लागि छुट्टै वैकल्पिक म्यानिफोल्ड र तयारी अवस्थामा दुईवटा अक्सिजन सिलिन्डर रहेको दाबी गरेको छ।
निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता
अस्पतालले शोकसन्तप्त परिवारले उठाएका प्रश्न र निष्पक्ष छानबिनको मागलाई सम्मान गर्दै कानुनबमोजिम हुने स्वतन्त्र चिकित्सकीय तथा प्रशासनिक छानबिनमा पूर्ण सहयोग गर्ने जनाएको छ।
त्यस्तै, मंसिर २ गते अस्पतालमा गरिएको तालाबन्दीका कारण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रवेशमा रोक लगाइएको, तीनवटा एम्बुलेन्स र अक्सिजन सिलिन्डर बोकेको सवारीसाधनलाई समेत प्रवेश गर्न नदिइएको अस्पतालको आरोप छ। अस्पतालले स्वास्थ्य सेवा अवरुद्ध गर्ने र स्वास्थ्यकर्मीलाई धम्की दिने गतिविधिको छानबिन गर्न प्रशासनसँग माग गरेको छ।





