वीरगंज । वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका क्रममा १८ दिने नवजात शिशुको मृत्यु भएपछि चर्किएको विवाद थप गम्भीर बनेको छ। घटनाबारे जानकारी लिन अस्पताल पुगेका मृतकका मामा दिलपाल साहले आफूमाथि कुटपिट भएको आरोप लगाउँदै निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
बाराको कलैया उपमहानगरपालिका–२२, मदुलवाका सन्दीप साहका १८ दिने छोराको उपचारका क्रममा मृत्यु भएपछि परिवारले चिकित्सकीय लापरबाहीको आरोप लगाउँदै प्रदर्शन गर्दै आएको छ। जण्डिस भएपछि गत शनिबार अस्पताल भर्ना गरिएको शिशुको मंगलबार दिउँसो मृत्यु भएको थियो। परिवारले मृत्युको वास्तविक कारण सार्वजनिक गर्न र सीसीटीभी फुटेज उपलब्ध गराउन माग गर्दै आएको छ।
यसैक्रममा मृतक शिशु आफ्नै भान्जा पर्ने दिलपाल साह घटनाबारे जानकारी लिन र न्यायको माग गर्न अस्पताल पुगेका थिए। तर, अस्पताल प्रशासनका पप्पु सिंह लगायत ४/५ जनाले आफूमाथि कुटपिट गरेको साहको आरोप छ। कुटपिटबाट घाइते भएका उनलाई सुरुमा नारायणी अस्पताल लगिएको र त्यहाँबाट थप उपचारका लागि वीरगंज हेल्थ केयर रेफर गरिएको थियो। उनको टाउको, पेट तथा संवेदनशील अंगमा चोट लागेको बताइएको छ।
साहले कुटपिटमा संलग्नमाथि कारबाही गर्नुको सट्टा उल्टै आफूलाई प्रहरीले नियन्त्रणमा लिएर करिब चार घण्टासम्म मोबाइलको कल डिटेल जाँच गरेको आरोपसमेत लगाएका छन्।
उनले आफ्नो असन्तुष्टि डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीप्रति नभई अस्पताल व्यवस्थापनसँग रहेको स्पष्ट पारेका छन्। स्वास्थ्यकर्मीको सम्मान र सुरक्षाको पक्षमा आफू रहेको बताउँदै उनले बिरामीको मृत्यु वा उपचारमा लापरबाहीको आशंका उत्पन्न हुँदा बिरामी पक्षको गुनासो समयमै सुनुवाइ हुनुपर्ने माग गरेका छन्।
अस्पताल व्यवस्थापनले सम्बन्धित निकायसँग समन्वय गरी निष्पक्ष छानबिन प्रक्रिया तत्काल अघि बढाउनुपर्ने उनको भनाइ छ। तोडफोड र झडप भएपछि मात्र सम्बन्धित निकायको ध्यान जाने अवस्थाको अन्त्य हुनुपर्ने भन्दै साहले आफू हिंसा नभई न्याय, पारदर्शिता र जवाफदेहिताको पक्षमा रहेको बताएका छन्।
उनले घटनामा संलग्न व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउन, दोषी प्रमाणित भए कानुनबमोजिम कडा सजाय दिन, आफ्नो व्यक्तिगत सुरक्षा सुनिश्चित गर्न तथा घटनासँग सम्बन्धित प्रमाण नष्ट हुन नदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
स्वास्थ्यकर्मीको सम्मान र बिरामी पक्षको न्याय दुवै सुनिश्चित हुनुपर्ने साहको माग छ।
यता, अस्पताल प्रशासनले भने लगाइएका आरोपहरू विज्ञप्तिमार्फत खण्डन गरेको छ। अस्पतालले घटनाबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै आरोप अस्वीकार गरेको हो। यससँगै शिशुको मृत्यु र अस्पताल परिसरमा भएको घटनाबारे दुवै पक्षका फरक धारणा सार्वजनिक भएका छन्।





