वीरगंज । राहदानी (पासपोर्ट) बनाउने क्रममा निधारको टीका र सिन्दूर हटाउन तथा कपालको प्राकृतिक रङ परिवर्तन गर्न लगाइएको भन्दै विश्व हिन्दु परिषद् नेपालले आपत्ति जनाएको छ।
परिषद्ले जिल्ला प्रशासन कार्यालय पर्सालाई पत्र पठाउँदै धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएका प्रतीक हटाउन लगाइएको भनिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएको हो।
परिषद्का अनुसार राहदानी बनाउने क्रममा कर्मचारीले निधारको टीका पुछ्न, महिलालाई सिन्दूर हटाउन तथा कपालको प्राकृतिक रङ परिवर्तन गर्न लगाएको विषय सार्वजनिक भएको छ। यस्तो व्यवहारले नागरिकको धार्मिक स्वतन्त्रता, सांस्कृतिक पहिचान र व्यक्तिगत सम्मानमा असर पुग्न सक्ने परिषद्को भनाइ छ।
परिषद्ले घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न, संलग्न कर्मचारीको पहिचान गरी कानुनअनुसार कारबाही गर्न तथा राहदानीको तस्बिरसम्बन्धी आधिकारिक मापदण्ड र कानुनी प्रावधान स्पष्ट पार्न माग गरेको छ।
त्यस्तै, धार्मिक तथा सांस्कृतिक प्रतीक हटाउनुपर्ने कुनै अनिवार्य कानुनी व्यवस्था भए त्यसको कानुनी आधार र लिखित निर्देशन सार्वजनिक गर्न पनि परिषद्ले आग्रह गरेको छ।
राहदानी सेवा प्रवाह गर्दा नागरिकको धार्मिक आस्था र सांस्कृतिक पहिचानको सम्मान गर्न सम्बन्धित कर्मचारीलाई आवश्यक निर्देशन दिनुपर्ने तथा भविष्यमा यस्तो घटना दोहोरिन नदिन प्रभावकारी व्यवस्था गर्न परिषद्को माग छ।
विश्व हिन्दु परिषद् नेपालका महानगर अध्यक्ष ज्योति रुद्रटाले हस्ताक्षर गरेको पत्रमा जिल्ला प्रशासन कार्यालय पर्साले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरी आवश्यक सुधारात्मक कदम चाल्नसमेत आग्रह गरिएको छ।






