Categories राजनीति

मेयरको टिकट सुनिश्चित भएको भन्दै प्रचार गर्नेहरूमाथि छानबिन गर्न साहको माग

Advertisement

वीरगंज । आगामी स्थानीय निर्वाचनमा वीरगंज महानगरपालिकाको मेयर पदको उम्मेदवारी सुनिश्चित भइसकेको भन्दै केही व्यक्तिले प्रचार गरिरहेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता बिशेष साहले पार्टी सभापति रवि लामिछानेको ध्यानाकर्षण गराएका छन्।

Gen-Z अभियन्तासमेत रहेका साहले सभापति लामिछानेलाई पत्र पठाउँदै वीरगंज महानगरपालिकाको उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउन माग गरेका हुन्।

Advertisement

उनले वीरगंजमा जनतासँग प्रत्यक्ष भेटघाटका क्रममा केही व्यक्तिहरूले आगामी निर्वाचनमा मेयर पदको उम्मेदवारी आफ्नो लागि सुनिश्चित भइसकेको र आफ्नै प्यानलका विभिन्न वडाध्यक्षका उम्मेदवारसमेत तयार भइसकेको भन्दै प्रचार गरिरहेको चर्चा सुनिएको पत्रमा उल्लेख गरेका छन्।

Advertisement

रास्वपाले Candidate Club लगायत निर्धारित प्रक्रियामार्फत उम्मेदवार छनोट गर्नेमा आफूहरू विश्वस्त रहेको बताउँदै साहले आधिकारिक निर्णय हुनुअघि नै यस्ता दाबी र प्रचारले पार्टीको उम्मेदवार छनोट प्रक्रियामाथि भ्रम सिर्जना गरेको बताएका छन्।

यस्ता गतिविधिले अन्य इच्छुक तथा योग्य आकांक्षीहरूको मनोबलमा समेत असर पार्न सक्ने उनको भनाइ छ।

साहले पार्टीको विधि, विधान र उम्मेदवार छनोट प्रक्रियाविपरीत गतिविधि गर्ने जोकोहीमाथि निष्पक्ष छानबिन गरी दोषी पाइए आवश्यक कारबाही गर्न पनि माग गरेका छन्।

पार्टी कुनै व्यक्ति विशेषको स्वार्थभन्दा माथि उठेर विधि, विधान र संस्थागत निर्णय प्रक्रियाअनुसार अघि बढ्नुपर्नेमा जोड दिँदै उनले उम्मेदवार छनोटमा निष्पक्षता र पारदर्शिता कायम गर्न पार्टी नेतृत्वसँग आग्रह गरेका छन्।

उक्त पत्रको बोधार्थ रास्वपा पर्सा जिल्ला समिति र वीरगंज महानगर समितिलाई समेत पठाइएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *